गंगालाल र दशरथलाई साक्षी राखेर प्रतिगमनको विरोध

गंगालाल र दशरथलाई साक्षी राखेर प्रतिगमनको विरोध


२० माघ, काठमाडौं । वि.सं १९९७ माघ १५ गते बिहान झिसमिसेमै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई विष्णुमती किनारमा रहेको शोभा भगवतिको जंगलमा पुर्‍याइयो । राणा शासनको विरोध गरेबापत पक्राउ परेका उनीहरूलाई केही दिनअघि फाँसीको सजाय सुनाइएको थियो ।

शोभा भगवती पुगेपछि दशरथ चन्दले कर्णेल नरशमशेरसँग ‘सक्ने भए गोली हानेर मार्’ भन्दै प्रतिवाद गरे । विवाद बढेपछि क्रोधित बनेका नरशमशेरले तत्कालै गंगालाल र दशरथलाई गोली हानी मारे । अहिले शोभा भगवति मन्दिर रहेको सडक किनारमा दुई अमर हीदको अर्धकद तथा पूर्णकदका दुईजोर शालिक राखिएका छन् ।

मंगलबार बहृत् नागरिक आन्दोलनसम्बद्ध अभियन्ताहरू यिनै दुई शहीदको सम्मानसहित विरोध प्रदर्शन गर्न शोभा भगवती पुगे । मन्दिरअगाडि रहेको पीपलबोटमा भेला भएका अभियन्ताहरूले कविता, गीत, नाटक र मन्तव्यमार्फत प्रतिगमनको विरोध गरे ।

विरोध कार्यक्रमको सुरुमा पाँचथरका सुजन आङ्देम्बे लिम्बूले आफ्नो मातृभाषामा गीत गाउँदै प्रतिगमनको विरोध गरे । उनको गीतमा मानिसको मुक्तिको लागि आफैंले संघर्ष गर्नुपर्ने कुरा समेटिएको थियो ।

त्यसपछि शिल्पी थिएटरको टोलीले दशरथ–गंगालाललाई फाँसी दिइएको झझल्को दिने नाटक ‘जनता जागेपछि’ प्रदर्शन गरे । युवा नाट्यकर्मीको नाटक हेर्न स्थानीयबासीको जम्मा भएका थिए ।

गोविन्द ओली, रवि श्रेष्ठ, अजय लामा, सञ्जय शाही, शेखर चापागाईंको टोलीको अभिनय तथा पवित्रा खड्काको निर्देशन रहेको नाटकमा कर्णेल नरशमशेर र गंगालाल–दशरथ बीचको अन्तिम संवाद देखाइएको थियो । राणाकालीन सैन्य पोशाकमा हतियार बोकेका कलाकार देख्दा स्थानीय दंग देखिन्थे । ती सैनिकले घिर्सादै गंगालाल र दशरथ चन्दलाई नरशमशेरछेउ ल्याए । त्यहाँ सरकारी सैनिकका कर्णेल नरशमशेरले माफी मागे बाँच्छौं भन्दै दुवैलाई फकाउन खोजे । तर निडर स्वभावका दशरथले सक्ने भए गोली हानेर मार् भन्दै नरशमशेरको निन्दा गरे । यसको केहीबेरमा नै गोली चलेको ठूलो आवाज आयो ।

नाटकको यो दृश्य हेरिरहेका ७० वर्षीय रामहरि सुवेदी आफूले बाबु–काकाबाट सुनेको घटना प्रत्यक्ष हेर्न पाउँदा खुसी देखिन्थे । सुवेदीले अनलाइनखबरसँग भने, ‘शहीदहरूलाई शोभा भगवतीमा गोली हानेको सुन्दै आएको थिएँ । कसले कसरी गोली हानेको रहेछ आज थाहा पाएँ !’

शहीद दशरथको भूमिका निभाएका कलाकार रवि श्रेष्ठले ऐतिहासिक विषयमा अभिनय गर्दा गौरव महसुस गरेको सुनाए । ‘नाटकबाट मैले कोही पनि दमनभित्र बस्न हुँदैन भन्ने कुरा बुझेँ । देश र जनताको लागि अन्याय हुँदा हामी स्वयं पनि मर्न डराउनु हुन्न रहेछ भन्ने बोध भयो’ उनले अनलाइनखबरसँग भनेका छन् ।

०००

नाटकपछि चलेको मन्तव्यको क्रममा अभियन्ता सन्तोष परियारले नेपाल भूमिमै दलितहरूले दोस्रो दर्जाको नागरिक हुनुपरेको तीतो यथार्थ पोखे । परियारका अनुसार नेपाली राज्यको चरित्र सधैं विभेदकारी रहिआएको छ । त्यसको अन्त्य नै अबको लक्ष्य भएको उनले प्रष्ट पारे ।

लेखक कैलाश राईले आन्दोलनमा सधैं ‘टोपीधारी जुँगाधारीहरू’को नाम अकिंत हुँदा धेरै महिला छुटेको तथ्य बताइन् । कैलाशले भनिन्, ‘इतिहासमा हजारौं महिलाको योगदान छ । ती आन्दोलनको अग्रपंक्तिमा देखा नपरेपनि मुख्य भूमिकामा महिला, दलितहरूले काम गरेको प्रमाण छ ।’

राईको मतअनुसार दलित, जनजाति, किँरात समुदायका हजारौं मानिसको जीवन आहुतिबाट मात्र आजको परिवर्तन सम्भव भएको हो । उनले शहीद लखन थापामगर, भूपति गुरुङ, सुकु गुरुङको सम्झना गर्दै राज्यको नजरभित्रै पनि शहीदको वर्ग छुट्टिएको बताइन् ।

युवा अभियन्ता हिमांशुले संसद विघटनजस्तो प्रतिगामी कदममा कोही चुप लागेर बस्नै नमिल्ने बनाए । उनले भने, ‘प्रचण्ड वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि युवा टोली प्रतिगमन सकियो भनेर बस्ने छैन । प्रत्येक कदममाथि प्रश्न उठाउनेछ ।’

मन्तव्यपछि जनकवि दुर्गालाल श्रेष्ठले अडियोमार्फत वाचन गरेको कविता सुनाइएको थियो । ८४ वर्षीय दुर्गालाल नागरिक आन्दोलनमा आउन नपाएप्नि त्यसलाई समर्थन गर्दै कविता वाचन गरी पठाएका थिए । नेपाल भाषामा रहेको कविताले ‘त्यो एकदिन अवश्य आउँछ’ भन्दै जनताका दिन आउने संकेत गरेको थियो ।

लेखक एवं पत्रकार नारायण वाग्लेले शोभा भगवतीबाटै फागनु ७ गतेदेखि नयाँ जनआन्दोलन थालिने उद्घोष गरे । वाग्लेका अनुसार त्यो दिन टुडिँखेलबाटै नागरिक–घोषणापत्र जारी गरिनेछ ।

यो पनि पढ्नुहोस् : ७ फागुनमा टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुन्छ : नारायण वाग्ले

मंगलबारको प्रदर्शनमा युवा टोली र स्थानीयको बाक्लो उपस्थिति थियो । सभामा आन्दोलनमा लाग्ने खर्च नागरिक तहबाटै आर्थिक संकलन गरी उठाइएको थियो । मंगलबार शोभा भगवतिबाट नागरिक आन्दोलनका लागि ९ हजार ३ सय रुपैयाँ उठेको थियो ।

कार्यक्रम सञ्चालन गरेका राजेन्द्र महर्जनले जनताको बलमा उठेको आन्दोलन निष्पक्ष र प्रभावकारी हुने बताए । महर्जनले भने, ‘जनताकै सन्ततिहरू गंगागाल, दशरथ चन्दको त्यागले प्रजातन्त्र सम्भव भएको हो । यसैले जनबलको ठूलो महत्त्व हुन्छ ।’

नरेश ताम्राकारले सयौं वर्षदेखि काठमाडौ उपत्यका नेवा–भूमि रहेको स्मरण गर्दै नेवाः सभ्यतामाथि अतिक्रमण नर्गन चेतावनी दिए । ताम्राकारले भने, ‘कुनै पनि निहुँ पारेर नेवा सभ्यतामाथि प्रहार गरिएको हामीलाई सह्य हुँदैन । किनकि देशको स्वतन्त्रतामा नेवा समुदायको पनि उत्तिकै योगदान छ ।’

यस्तै डोटेली भाषाको कविता सुनाउन आएका पत्रकार अरुणदेव जोशीले नेपाल राज्य बन्न सुदूर पश्चिमको योगदानबारे चर्चा गरे । जोशीले शहीद दशरथ चन्द सुदूर पश्चिमको भएको बताउँदै चन्दको मातृभाषा हिन्दी रहेको तथ्य खुलाए । जोशीले भने ‘दशरथ चन्द स्वयं राजाका सन्तान थिए । आज नेपालका राजा भन्दा शाह बाहेकको इतिहास भनिँदैन । जुनकुरा सत्ताको चलखेलबाट मेटिएका इतिहास हुन् ।’

अरुणदेवले डाटेली स्थानीय भाषामा लेखिएको ‘दार्चुलाको सोराई’ शीर्षकको कविता सुनाए । उनका अनुसार डोटेली र अन्य स्थानीय भाषा जोड्दा मैथिली भाषाजत्तिकै जनसंख्या रहेको तथ्य सार्वजनिक गरे । उक्त कवितामा दार्चुलाको लेकम क्षेत्रको मध्यभागमा बोलिने बोली प्रयोग गरिएको छ । दार्चुलाबाहिर जन्मे हुर्केको दार्चुलावासीको सन्तानको दार्चुला बुझ्ने चाहना, दार्चुलाप्रतिको अपनत्व र प्रेम कवितामा पाइन्छ ।

ए मेरा बाबा, ए मेरी इजा मारमा कहाँ हो

ब्यासको सेरो, लेकमको फेरो, दुहुँ कहाँ हो ?

भेडाका पिठ नुन ल्यौना सौका दादी कहाँ छ

काठको सरियो, रौउतका तौड काँ हुन्न अब त ।

 

दुत्तियाकी जात, जातका दमौउ, जैपुर कहाँ हो

मालिकार्जुन मड, शीखर चढ्न्या रहर मनै र्याे ।

मैखोली खर्क, ऐडोको भोग द्यौतालाई चढौन्या

लटिनाथ, घाजिर सुर्मा, वीरेका यात्रा, चाहा खेलौन्या ।

 

हुड्काकी ताल, छङछङ पौंजी, धौली नाच्याकी

औ रज… भुण्डोई भडा हाल्द्या तो कालो बादी ।

बुबुकी कुलई, आमाको घाँगरो, ढोली दाजी सिलौन्या

दुवी–धागो, गलोफन्द, इजाकी गला क्या निको सोभौन्या ।

 

सौक्यानी बौजुले बुन्याको दन, देशमै नामको छ

आफरको बौसो, झौल्याको हलो,खेतका गडाई छ ।

नारिङका भाडी, काफल गडो, ऐंशेलु पाखान लाई

पन्यार पानी फोओलामै ल्याउने, बौजु, पर्सो डोका माई ।

 

कालापानी, लिम्पया धुरा, कालीको मुहान को ?

कालीका तिर सुन्सेरा, हुती, जोगिनी जात निको

कुटि याङ्दी, तीङ्कर भञ्जयाङ, तिब्बतका बाटा माई

हुनिया औन्या, जुम्लीका घोडा जोलजिवी मेला लाई ।

 

होलीमा औन्या तो शहरको जोगी, गोःराका विरुडा

विस्पति गोसी–बौजु सोडिन्या हुन्ना डाइन्या सिन्ना ।

गरणका दिन तिन मेरा भाईन छाड् रौवा भुण्डा हुन,

लाग बडबाप भुण्ड्या बुढ्या पार्की ऐल कसा छन् ।

 

हड्ब्या, विण्नो, कुस्या पारो, डुँड्या, कि होलो ?

कसिडोँ, पराद, तौलो, खोपप्या, नौ मात्रै सुण्याको ।

चर, तौलो, कस्या थालो, बुबुका रोस्यो माई

जातरा पिस्यो घोगाका रोटा छाँइ–चुवा चपाउनाई ।

 

ए मेरा बाबा ए मेरी इजा गोकुल्या कहाँ हो

चमलिया गाढ, उकुको महल, हिमाल अपी, खलंगा कहाँ हो ।

‘नैपाल’ जन्म्या, ‘नैपालै’ बढ्या, मुई रैछुँ काँहा को

ए मेरा बाबा ए मेरी इजा दार्चुला कहाँ हो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *