कोरोना खोप पाउनै मुश्किल, कहिले होला सहज ?

कोरोना खोप पाउनै मुश्किल, कहिले होला सहज ?


१५ चैत, काठमाडौं । हिजोआज विश्वका धेरै देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

महामारी शुरु भएको करिब एक वर्षमै खोप विकास भई लगाउन पाउनुलाई धेरैले खुशीको रुपमा लिएका छन् । तर केही धनी देशबाहेक धेरैले खोप अभाव व्यहोरिरहेका छन् ।

नेपालमा १६ लाख ७३ हजारले लगाएपछि खोप अभावका कारण अभियान स्थगित भएको छ । भारतले अनुदानमा दिएको र त्यहाँको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको खोपबाट अभियान सञ्चालन भए पनि ६५ वर्षदेखि माथिका नागरिकले खोप लगाउँदै गर्दा खोप सकिएपछि स्थगित गरिएको हो ।

नेपालले खरिद गरिसकेको १० लाख डोज खोप सेरम इन्ष्टिच्युटले दिन आनाकानी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघमा तीन महिनामा सबै नागरिकलाई कोरोना खोप दिने दावी गरेका थिए, तर प्रधानमन्त्रीको घोषणा घोषणामै सीमित भयो ।

चीनले अनुदान दिएको ८ लाख डोज खोप सोमबार नेपाल आइपुगेको छ । तर यो खोपले मात्र प्रधानमन्त्रीको घोषणाअनुसार खोप लगाउन सम्भव हुँदैन ।

नेपालमा जस्तै विश्वका धेरै देशमा कोरोना खोपको अभाव छ । कतिपय देशले एक पटक पनि लगाउन पाएका छैनन् ।

खोप उत्पादन गर्ने केही मुलुकले आफ्ना नागरिकलाई खोप अभाव हुन नदिन निर्यातमा प्रतिबन्ध लगाइरहेका छन् भने धेरै धनी मुलुकले आवश्यक खोप प्रिअर्डर गरिसकेका छन् । जसका कारण उत्पादक कम्पनीहरु अन्य मुलुकमा निर्यात गर्न नसक्ने स्थितिमा छन् ।

छिमेकी मुलुक भारतले संक्रमण बढ्न थालेपछि कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध कहिले खुल्छ भन्ने टुङ्गो छैन । गत बिहीबारसम्मको तथ्यांकअनुसार पाँच करोड १४ लाखभन्दा धेरै भारतीय नागरिकले खोप लगाइसकेका छन् ।

भारतले एक अर्ब ३० करोड जनसंख्यामध्ये आगामी जुलाईसम्म ३० करोड जनालाई खोप दिने लक्ष्य लिएको छ । भारतमा सेरम इन्ष्टिच्युटले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड र घरेलु कम्पनी भारत बायोटेकले आफूले नै विकास गरेको कोभ्याक्सिन खोप उत्पादन गरिरहेको छ । यी दुई कम्पनीबाट उत्पादित खोप आफैंलाई चाहिने भन्दै भारतले हालै निर्यातमा प्रतिबन्ध लगाएको हो ।

अमेरिकामा अहिलेसम्म नौ करोड १७ लाख जनाले खोप लगाएका छन् । राष्ट्रपति जो बाइडनले मे १ सम्ममा सबै वयस्क नागरिकलाई खोप दिने दावी गरेका छन् र मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् ।

त्यसका लागि अमेरिकाले पर्याप्त मात्रामा खोप खरिद गरिसकेको छ । अमेरिकाले फाइजर, मोडेर्ना प्रयोगको अनुमति दिएको छ भने आपतकालीन प्रयोगका लागि जोन्सन एण्ड जोन्सनको खोपलाई अनुमति दिएको छ ।

छिमेकी मुलुक चीनले अहिलेसम्म नौ करोड ७४ लाख डोज खोप लगाएको बताएको छ । यो संख्या दोस्रो डोज लगाउनेको संख्यासमेत जोडेर हो । यद्यपि दोस्रो डोज लगाउनेको संख्या सार्वजनिक गरेको छैन ।

चीनले आगामी जुलाईसम्ममा कुल जनसंख्या एक अर्ब ४० करोडको ४० प्रतिशतलाई खोप पुर्‍याउने लक्ष्य राखेको छ । यो वर्षको अन्तिमसम्ममा आफ्ना ७० देखि ८० प्रतिशत नागरिकले कोरोना खोप पाउने चीनको दाबी छ ।

विश्वभर कतिले लगाए खोप ?

अहिलेसम्म विश्वभर कोरोना खोपको ५२ करोड ६८ लाख डोज लगाइएको छ । यसमा दोस्रो डोज लगाउने संख्या पनि समावेश छ ।

अहिलेसम्म एक सयभन्दा धेरै मुलुकमा खोप अभियान चलिरहेको छ र केही मुलुकमा भने शुरु भएको छैन । खोप अभियान सुरु नहुनेमा अफ्रिकी मुलुक धेरै छन् ।
हाल विश्वभर दैनिक रुपमा एक करोड २० लाख डोज खोप दिने गरिएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

अहिलेसम्म विश्वभर कम्तीमा ११ खोपले आंशिक वा पूर्णरुपमा प्रयोगको अनुमति पाएका छन् । चीनले आफैंले विकास गरेका चार खोपलाई मात्र प्रयोगको अनुमति दिएको छ, अर्को एउटालाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

अमेरिका, ईयू र अन्य मुलुकले फाइजर–बायोएनटेक, मोडेर्ना र जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना खोपलाई अनुमति दिएका छन् ।

बेलायत, ईयू र भारतलगायतका धेरै मुलुकले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई अनुमति दिएका छन् । रुसले गामालेया इन्ष्टिच्युट र भेक्टर इन्ष्टिच्युटले विकास गरेको खोपलाई अनुमति दिएको छ ।

विश्वका अधिकांश मुलुकमा कोरोना खोप अभियान शुरु भइसकेको अवस्थामा कुन मुलुकले कहिलेसम्म कोरोना खोप पाउलान् र कोरोना महामारीको अन्त्य होला भन्ने धेरैको चासोको विषय छ ।

इजरायलले ५२ प्रतिशत नागरिकलाई दुबै डोज खोप दिइसकेको छ । तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अझै विश्वका ३६ मुलुकमा कोरोना खोप अभियान नै शुरु भएको छैन । १६ मुलुकमा दुई साताभित्र खोप अभियान शुरु हुने भए पनि बाँकी २० मुलुकमा कहिलेसम्म हुन्छ भन्ने टुङ्गो छैन ।

अफ्रिकामा दक्षिण अफ्रिका, घाना, मोरक्कोलगायतका मुलुकले विभिन्न खोप अभियान शुरु गरेका छन् । तान्जानिया, मादागास्कर, बुरुण्डीलगायतका मुलुकमा खोप कार्यक्रम शुरु भएको छैन । मोरक्कोबाहेक अन्य अफ्रिकी मुलुकमा एक प्रतिशतभन्दा कमले मात्र कोरोना खोप पाएका छन् ।

यस्तो असमानता आगामी दिनमा अझै बढ्न सक्ने जनस्वास्थ्यका विज्ञहरुले बताएका छन् । खोप उत्पादन गर्ने केही मुलुकले आफ्ना नागरिकलाई खोप अभाव हुन नदिन निर्यातमा प्रतिबन्ध लगाइरहेका छन् भने धेरै धनी मुलुकले आवश्यक खोप प्रिअर्डर गरिसकेका छन् । जसका कारण उत्पादक कम्पनीहरु अन्य मुलुकमा निर्यात गर्न नसक्ने स्थितिमा छन् ।

त्यसैले आफ्नो मुलुकमा खोप उत्पादन नभएका, यसअघि खोपको लागि सम्झौता नगरेका र आर्थिक रुपमा विपन्न मुलुकले कहिले पर्याप्त खोप पाउँछन् भन्ने अनिश्चित नै छ ।

कोरोना खोपको प्रतीक्षा गर्ने मुलुकले पनि कति समय कुर्नुपर्छ भन्ने यकिन छैन । खोप लगाएपछि विकास भएको एन्टिबडी पनि घट्न थाल्यो र कोरोना संक्रमण पूर्णरुपमा रोकिएन भने एकपटक खोप लगाइसकेका मानिसले पनि दोस्रोपटक लगाउनुपर्ने अवस्था आउन सक्छ ।

केही समयअघि बीबीसीले गरेको प्रक्षेपणमा अमेरिका र केही युरोपेली मुलुकले सन् २०२१ को अन्तिमसम्ममा आफ्ना सबै नागरिकलाई कोरोना खोप लगाइसक्ने देखिएको थियो । अफ्रिकाका अधिकांश मुलुकले भने सबै नागरिकलाई खोप लगाउन सन् २०२३ सम्म पर्खिनुपर्ने बीबीसीले उल्लेख गरेको थियो । खोपका लागि २०२३ सम्म पर्खिनुपर्ने सूचीमा नेपाल पनि थियो ।

हाल विश्वमा कोरोना खोप कति उत्पादन भएको छ भन्नेबारे आधिकारिक तथ्यांक छैन । तर, एक अनुसन्धान संस्था एयरफिनिटीले सन् २०२१ मा विश्वभरका खोप उत्पादकहरुले नौ अर्ब डोजभन्दा बढी कोरोना खोप उत्पादन गर्ने अनुमान गरेको थियो । तर माग भने ११ अर्ब डोजभन्दा धेरै रहने अनुमान छ ।

यद्यपि खोपसम्बन्धी अनुमान नमिल्न सक्ने विज्ञहरु बताउँछन् । खोपले मानिसको शरीरमा विकास गर्ने एन्टिबडी दीर्घकालसम्म रहन्छ कि रहँदैन भन्ने यकिन छैन । कोरोना संक्रमणमुक्त भएकाहरुको एन्टीबडी घट्दै गएको पाइएको छ । त्यस्तै खोपबाट बनेको एन्टीबडी पनि घट्दै जाने र निश्चित समयमा फेरि खोप दिनुपर्ने अवस्था आउन सक्छ ।

खोप किन अभाव भयो ?

धेरै मुलुकले खोप नपाउनु र खोप अभियान चलिरहेका मुलुकले पनि स्थगित गर्नुमा खोप अभाव नै मुख्य कारण हो । खोप अभाव हुनुको महत्वपूर्ण कारण कोरोना खोप विकासमा लागेको समय हो ।

कोरोना खोप अहिलेसम्म विकास भएका खोपमध्ये सबैभन्दा छोटो समयमा विकास भएको हो । निकै कम समयमा विकास भएकाले खोप उत्पादन बढाउन कम्पनीहरुले मौका पाएका छैनन् । त्यस्तै अन्य कम्पनीले विकास गरेको खोप उत्पादनको अनुमति लिने सम्झौता पनि खोप उत्पादकले गर्न भ्याएका छैनन् ।

खोप अभाव हुनुको मुख्य कारण भने यसको माग बढी हुनु नै हो । कोरोना महामारी विश्वभर फैलिएकाले स्वाभाविकरुपमा खोपको माग पनि अत्यधिक देखिएको हो । त्यसैले विश्वका सबै मुलुक आफ्ना नागरिकलाई छिटो भन्दा छिटो खोप दिन लागिपरेका छन् ।

खोपका लागि उत्पादन बढाउने वा केही समय कुर्नेबाहेक विकल्प छैन । तर, उत्पादन बढाउने विकल्प त्यति सहज भने छैन । अहिले पनि कोरोना खोप उत्पादन गरिररहेका कम्पनीहरुले यसअघि उत्पादन गर्दै आएको भन्दा धेरै परिमाणमा उत्पादन गरिरहेका छन् । पछिल्लो एक वर्षमा कोरोना खोप उत्पादनमा उनीहरुले उल्लेख्य लगानी गरेका छन् तर माग धान्न सकेको छैन ।

त्यसो त उत्पादकले एक वर्षअघिनै उत्पादन बढाउन उल्लेख्य लगानी गरेको भए क्षमता बढ्न सक्थ्यो तर खोप विकासका क्रममा सफल हुने वा नहुने भन्ने आशंका कायमै हुँदा लगानी बढाउने जोखिम लिएनन् ।

साथै खोपले अनुमति पाउने सुनिश्चित नभएसम्म धेरै मुलुकले कोरोना खोप खरिदको सम्झौता पनि गरेनन् । त्यसैले कम्पनीहरुको खोप उत्पादन क्षमता बढाउन लगानी बढाउन नसकेका हुन् ।

कोरोना खोपको प्रतीक्षा गर्ने मुलुकले पनि कति समय कुर्नुपर्छ भन्ने यकिन छैन । खोप लगाएपछि विकास भएको एन्टिबडी पनि घट्न थाल्यो र कोरोना संक्रमण पूर्णरुपमा रोकिएन भने एकपटक खोप लगाइसकेका मानिसले पनि दोस्रोपटक लगाउनुपर्ने अवस्था आउन सक्छ । त्यसो भएमा गरिब मुलुकले खोप पाउन अझै लामो समय कुर्नुपर्ने हुन सक्छ ।

कोभ्याक्स कार्यक्रम के हो ?

खोप वितरणमा निकै असमान हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को पहलमा कोभ्याक्स कार्यक्रम अघि सारिएको छ । उत्पादन भएका खोप धनी मुलुकले मात्र खरिद गर्ने र गरिब मुलुकले नपाउने अवस्था नआओस् भनी डब्ल्यूएचओले निश्चित खोप किनेर गरिब मुलुकमा वितरण गर्ने यो कार्यक्रमको उद्देश्य हो । यो खोपबापत गरिब मुलुकले पैसा तिर्नुपर्दैन ।

यो कार्यक्रमअन्तर्गत यस वर्ष नेपाललगायत ९२ मुलुकहरुमा दुई अर्ब डोज कोरोना खोप पुर्‍याउने लक्ष्य छ । यसले यी मुलुकको समग्र जनसंख्याको २० प्रतिशतलाई खोप पुग्नेछ । यद्यपि खोप अभावको कारण यो लक्ष्य पूरा हुनेमा भने आशंका कायमै छ ।

कोभ्याक्स कार्यक्रमबाट घानाले सबैभन्दा पहिला खोप पाएको थियो । अहिलेसम्म कोभ्याक्सबाट विश्वका ६१ मुलुकमा तीन करोड २० लाख डोज कोरोना खोप पठाइसकेको छ । यद्यपि यो कार्यक्रमको अर्को चरण कहिले सुरु हुने र मुलुकहरुले कति खोप पाउने भन्ने अन्योल भने अझै कायमै छ ।

कोभ्याक्सले कहाँबाट पाउँछ खोप ?

कोभ्याक्स कार्यक्रमले खोपका लागि फाइजर–बायोएनटेक, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनेकाजस्ता कम्पनीसँग सम्झौता गरिसकेको छ । तर, कोभ्याक्सले पनि सम्झौताअनुसारको खोप पाउने सम्भावना कम छ । सन् २०२१ को सुरुआती ६ महिनाभित्र एस्ट्राजेनेकाको ३३ करोड ६० लाख डोज खोप पाउने लक्ष्य कोभ्याक्सको छ ।

यीमध्ये धेरैजसो खोप भारतीय खोप निर्माता सेरम इन्ष्टिच्युटले उत्पादन गर्नेछ । तर, अहिले नै सेरमले आफ्नो सम्झौताअनुसारको खोप विभिन्न मुलुकमा पठाउन सकेको छैन ।

युनिसेफका प्रवक्ताले सेरम इन्ष्टिच्युटले आगामी मे महिनाबाट मात्र सेरमले अपेक्षाअनुसारको खोप उपलब्ध गराउने आशा राखेका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *