कोरोना खोप : कुनै देश छुट्न सक्छ ?

कोरोना खोप : कुनै देश छुट्न सक्छ ?


काठमाडौं । विशेषज्ञहरुले भनेका छन् कि  कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको एकमात्र उपाय विश्व एक हुनु हो ।

विश्वभर हालसम्म  साढे पाँच करोड मानिस कोरोनाबाट संक्रमित भइसके । उनीहरुमध्ये १३ लाखभन्दा बढीको मृत्यु भएको छ । महामारी नियन्त्रणमा आइनसकेकाले  धेरैको आशा अब खोपमा छ ।

यद्यपि कमजोर आय भएका मुलुकहरु भने यो खोपबाट बञ्चित हुन्छन् कि भन्ने चिन्ता भने कायमै छ ।

अहिले विश्वभर नै स्वच्छरुपमा कोरोना खोप पुर्‍याउन विभिन्न किसिमका प्रयासहरु पनि भइरहेका छन् । तर, व्यावहारिकरुपमा खोप कसरी वितरण हुन्छ त ?

खोप आउनुभन्दा पहिला नै खरिद गर्ने होड

सुरुआती नतिजालाई मान्ने हो भने अहिलेसम्म कम्तीमा दुई खोप निकै प्रभावकारी देखिएका छन् । अन्य केही खेापहरुको अन्तिम चरणको परीक्षण चलिरहेको छ र केही खोपको अन्तिम चरणको परीक्षणको नतिजा आउने क्रममा छ । धेरै खोपहरु सुरुआती मानव परीक्षणको क्रममा छन् ।

यद्यपि अहिलेसम्म कुनै पनि खोपले मान्यता भने पाएका छैनन् । तथापि खोप खरिद गर्ने क्रम भने जारी छ ।

अमेरिकाको नर्थ क्यारोलियास्थित ड्युक युनिभर्सिटीका अनुसार अहिलेसम्म सम्भावित खोपको ६ अर्ब ४० करोड लाख डोज खोप खरिद भइसकेको आकलन गरिएको छ । त्यसका साथै तीन अर्ब २० करोड डोज खोप खरिदको वार्ताको क्रममा वा अहिलेको सम्झौताअनुसार बढाउन सकिने अवस्थामा राखिएको छ ।

लण्डन स्कुल अफ इकोनोमिक्सकी सहायक प्राध्यापक क्लेयर वेनहाम निर्माण हुनुअघि नै खोप खरिद गर्ने चलन नौलो नभएको बताउँछिन् । उनका अनुसार जसले सुरुआतमा नै धेरै रकम तिर्न सक्यो, उसैको पालो पहिला आउँछ । उनका अनुसार अहिलेसम्मको अवस्था हेर्ने हो भने अधिकांश खोप उच्च आय भएका मुलुकले खरिद गरेका छन् ।

केही मध्यम आय भएका तथा खोप उत्पादनको क्षमता भएका मुलुकहरु पनि ठूलो खरिद सम्झौता गर्न सफल भएका छन् ।

उदाहरणको लागि भारतको सेरम कम्पनीले आफूले निर्माण गरेकोमध्ये आधा खोप आफ्नो मुलुकमा वितरण गर्ने बताएको छ ।

साथै ब्राजिल र मेक्सिकोजस्ता अन्य केही मुलुकहरुले क्लिनिकल परीक्षणको लागि आवश्यक संरचना उपलब्ध गराउँदै भविश्यमा आउन सक्ने खोप पाउने आशा कायम राखेका छन् ।

इन्डोनेसियाले चिनियाँ खोप निर्मातासँग सहकार्य गरिरहेको छ भने ब्राजिलले पनि अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरिरहेको खोप निर्माण तथा परीक्षणमा सहकार्य गरिरहेको छ ।

अहिलेसम्म कुन खोपले काम गर्छ भन्ने स्पष्ट भइसकेको छैन तर विश्वभरका मुलुकहरु भने एकभन्दा धेरै खोप खरिद गर्दै धेरै विकल्प खुला राख्न तम्सिएका छन् । अधिकांश खोप खरिद गर्नेमा भारत, युरोपेली संघ -ईयू), अमेरिका, क्यानडा र बेलायत छन् । डब्ल्यूएचओले पनि विश्वभरका नेताहरुले सुरुमा आफ्ना नागरिकलाई यो खोपको सुनिश्चितता दिलाउनु स्वाभाविक भए पनि यो विश्वव्यापी महामारी भएकाले यसविरुद्ध संयुक्तरुपमा लड्नु जरुरी रहेको बताएको छ ।

सीमित आपूर्ति

ड्युक एनालाइसिसकी एन्डि्रया टेलर अहिले भइरहेको खरिद सम्झौताले आगामी दुई वर्षको लागि खोपको उपलब्धता अन्य मुलुकका लागि सीमित हुने बताउँछिन् । उनका अनुसार अहिलेको अवस्था हेर्ने हो भने धनी मुलुकहरुले खोप पाउने र कम आय भएका मुलुकलाई भने यसको पहुँच निकै कम हुने अवस्था आउनेछ ।

विशेषज्ञहरुका अनुसार खोप आएपछि बजारमा कति खोप आउँछ भन्ने यकिन हुन सकेको छैन । अझै पनि सम्झौता हुने क्रम जारी छ र यसको वितरण कसरी हुने भन्ने विषयमा अन्योल कायमै छ ।

कोरोनाबारे किताब लेखिरहेका भारतीय लेखक चन्द्रकान्त लहरिया कम आय भएका मुलुकमा कोरोना खोप कसरी उपलब्ध हुन्छ भन्ने कुरा कति खोप निर्माण हुन्छ, कति छिटो निर्माण हुन्छ र ती खेाप कहाँ उत्पादन हुन्छ भन्ने कुरामा निर्भर रहने बताउँछन् । भारतको खोप उत्पादन क्षमताको आधारमा खोपको भाउ निकै सस्तो हुने र कम तथा मध्यम आय भएका मुलुकमा पनि यसको उपलब्धता धेरै हुन सक्ने उनी बताउँछन् ।

केही विश्लेषकहरु भने अहिले निर्माण भइरहेका मध्ये धेरै खोप सफल भएको अवस्थामा अहिले धनी मुलुकले विकल्पका लागि भनेर खरिद गरेका खोपहरु समेत अन्यत्र आपूर्ति हुने सक्ने बताउँछन् । यसले समग्र खोप आपूर्ति सन्तुलित हुन सक्छ ।

यद्यपि सन् २०२१ को अन्तिमसम्ममा कम तथा मध्यम आय भएका मुलुकमा ठूलो समुहमा खोप कार्यक्रम अघि बढ्ने सम्भावना निकै कम छ ।

अमेरिकी कम्पनी फाइजरले आफ्नो खोप यस वर्षको लागि पाँच करोड र अर्को वर्षको अन्तिमसम्ममा एक अर्ब ३० करोड डोज उत्पादन हुने बताएको छ । प्रत्येक मानिसलाई यो खोपको दुई डोज आवश्यक हुन्छ । यस्तोमा यो संख्या समग्र जानसंख्याको आधारमा हेर्ने हो भने निकै कम हुन आउँछ । यद्यपि मोडेर्ना कम्पनीले भने आफ्नो खोपको परीक्षणमा उत्साहजनक नतिजा देखिएको दाबी गरेकाले अन्य खोप पनि सफल हुन सक्ने अपेक्षा बढेको छ । धेरै खोप सफल भएको खण्डमा मात्र विश्वभर खोप आपूर्ति सहज र पर्याप्त हुन सक्ने देखिन्छ ।

खोप वितरणको नयाँ योजना

विश्व स्वास्थ्यमा असमानता नौलो कुरा होइन । डब्ल्यूएचओका अनुसरा प्रत्येक वर्ष विश्वभर करिब दुई करोड बालबालिकालाई पर्याप्त मात्रामा खोप उपलब्ध हुँदैन ।

अनुसन्धानका अनुसार सन् २००९ मा स्वाइन फ्लुको महामारीको समयमा खोपको आपूर्ति एडभान्समा खरिद गरेको कारण अधिकांश धनी मुलुकहरुमा गरिएको थियो । वेनहामका अनुसार विश्वस्वास्थ्य करिब ९०/१० भागमा विभाजन हुन्छ । जहाँ विश्वका ९० प्रतिशत फर्मास्युटिकल उत्पादनहरु विश्वको १० प्रतिशत जनसंख्याको लागि जाने गरेको छ ।

यस किसिमको स्वास्थ्य असमानता अन्त्य गर्ने उद्देश्यका साथमा कोरोना खोप वितरणका लागि डब्ल्यूएचओले महत्वपूर्ण विश्वव्यापी खोप योजना कोभ्याक्स अघि सारेको छ । यो योजनाअनुसार विश्वभरका कम्तीमा २० प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य छ ।

धनी मुलुकहरुले सम्भावित कोरोना खोप खरिद गर्न थालेसँगै कम आय भएका मुलुकहरुलाई सहयोग गर्ने उद्देश्यका साथमा ल्याइएको हो । अहिलेसम्म यो योजनामा १८६ मुलुक सहभागी भएका छन् ।

कोभ्याक्सको योजनाअनुसार पहिलो चरणमा सबै मुलुकका तीन प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ, जसमा स्वास्थ्य तथा सामाजिक कार्यकर्ताहरु पर्नेछन् । त्यसपछिको दोस्रो चरणमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ । यो चरणको खोप पाउनेमा ६५ वर्ष नाघेका वा अत्यधिक जोखिममा रहेका समुहहरु पर्नेछन् । अन्तिम चरणको खोप भने बाँकी समूहलाई उपलब्ध गराइनेछ ।

कोभ्याक्सले पनि सम्भावित कोरोना खोप यसअघि नै लाखौं डोजको एडभान्स खरिद गरिसकेको छ ।

यो योजनामा सहभागी मुलुकहरुले भने आफूहरुको बीचमा द्विपक्षीय सम्झौता भने जारी राखेका छन् । यसले कोभ्याक्सको योजनाअनुसार सबैले खोप पुर्‍याउने योजनमा भने असर पर्न सक्ने देखिएको छ ।

उदाहरणको रुपमा बेलायत र क्यानडालाई लिन सकिन्छ । उनीहरुले कोभ्याक्समा पनि लगानी गरिरहेका छन् । प्रत्यक्षरुपमा एकअर्कासँग वा फर्मास्युटिकल कम्पनीसँग खोप खरिदबारे वार्ता पनि गरिरहेका छन् । यस किसिमको कार्यले कोभ्याक्सको योजनालाई नै अवमूल्यन हुने केहीको तर्क छ । जसको कारण खोप वितरणमा धनी र कम आय भएका मुलुकबीच ठूलो अन्तर देखिन सक्ने आशंका देखिएको छ ।

स्रोत : बीबीसी



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *