कोरोना खोपको दौडमा कसरी पछि पर्‍यो युरोप ?

कोरोना खोपको दौडमा कसरी पछि पर्‍यो युरोप ?


१० फागुन, काठमाडौं । युरोपका चार मुलुक जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्स सन् २०२० को जुन महिनामा एस्ट्राजेनेकाको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद गर्ने सम्झौताको तयारीमा थिए । जतिबेला खोप बनिसकेको थिएन ।

तर सम्झौताबारे युरोपका अन्य मुलुकका धारणा फरक रह्यो । उनीहरुले यस किसिमको सम्झौता युरोपेली संघ (ईयू)को माध्यमबाट हुनुपर्ने बताए । त्यसपछि खोपको सम्झौतासँग जोडिएका सबै चर्चा युरोपेली आयोगका अधिकारीलाई जिम्मा लगाइयो ।

त्यसको एक महिनासम्म यो विषयमा खासै प्रगति भएन । दुई महिनापछि एस्ट्राजेनेकासँग ईयूको सहमति भयो र सेप्टेम्बरमा एस्ट्राजेनेका र ईयू सम्झौताको नजिक पुगे । यससँगै ईयूले युरोपका सबै नागरिकलाई एक भन्दा बढी पटक खोप लगाउन पुग्ने गरी खोप पाउने भयो ।

तर, आपूर्तिको समयमा ईयू पछाडि पर्‍यो । अहिले बेलायतले आफ्ना १७ प्रतिशत र अमेरिकाले आफ्ना नौ प्रतिशत जनसंख्यालाई कोरोना खोप लगाइसक्दा यो संख्या युरोपमा भने केवल तीन प्रतिशत छ ।

सामूहिक गल्ती

थिंकट्यांक ब्रुगलका निर्देशक गुंट्रा वुल्फ भन्छन्, ‘जतिबेला महामारी सुरु भएको थियो, त्यतिबेला ईयूसँग कुनै योजना थिएन । विशेषगरी खोप विकास गर्ने वा त्यसलाई खरिद गर्ने विषयमा उनीहरुसँग कुनै विशेषज्ञता थिएन र कुनै व्यवस्था पनि थिएन ।’

हुन पनि लामो समयसम्म ईयूका मुलुकहरुबीच सामुहिक कि छुट्टाछुट्टै खोप किन्ने भन्ने विषयमा सहमति हुन सकेन । प्रत्येक मुलुकसँग यस विषयमा आफ्नै राय थियो । केही मुलुकले अहिलेसम्म विकास नै नभएको खोपमा यति धेरै पैसा खर्च गर्नुको औचित्यमाथि नै प्रश्न उठाएका थिए ।

गुंट्रम वुल्फ भन्छन्, ‘त्यतिबेला धेरै खोप अर्डर गर्ने विषयमा पनि सावधानी अपनाइएको थियो । ईयूका केही मुलुक खोप सफल हुने वा नहुनेमा पनि विश्वस्त थिएनन् ।’

ईयूका केही मुलुक खोप उत्पादन प्रक्रियाको हिस्सा बन्न चाहन्थे । तर, केही मुलुक भने यो खोप सफल नहुँदासम्म यस विषयमा धेरै पैसा खर्च गर्नु ठीक नहुने बताउँदै थिए ।

‘वास्तविक समस्या केही समयपछि मात्र देखियो । त्यतिबेला खोप सफल हुने सम्भावना बलियो देखिएको थियो तर कम्पनीलाई बढी रकम दिनुपर्ने भयो’ गुंट्रम वुल्फ थप्छन्, ‘युरोपका फर्मा कम्पनीबाट खोपको लागि धेरै अर्डर आएको थिएन । उनीहरुले सम्भावित मागको विषयमा अनुमान गरेनन् र खोप उत्पादनको लागि अतिरिक्त फ्याक्ट्री खोल्नुपर्छ भन्नेमा पनि ध्यान दिएनन् । सुरुआतमा अर्डर दिनमा गरिएको ढिलाइ, साझा गल्ती थियो ।’

अन्ततः उनीहरुले सामूहिक रुपमा खोप किन्न निर्णय गरे । फरक फरक छ कम्पनीबाट दुई अर्बभन्दा धेरै डोज खोप खरिदको सहमति भयो । सम्झौताको क्रममा खोप सकेसम्म सस्तो मूल्यमा पाउनुपर्नेमा ईयूले जोड दियो । यसबाट ईयूले केही पैसा त बचाउन सक्यो, तर कम्पनीहरुले आफ्नो उत्पादन बढाउन सक्ने गरी पैसा पाएनन् ।

‘त्यसो भए खोपको रकम महत्वपूर्ण विषय थियो ?’ गुंट्रम वुल्फ भन्छन्, ‘फाइजर–बायोएनटेकको खोप युरोपले इजरायल तथा अन्य मुलुकको तुलनामा कम मूल्यमा पायो । तर बहस के हो भने यदि ठूलो रकममा पहिला नै धेरै अर्डर दिएको भए कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउँथे र अहिले समग्र विश्वमा नै आपूर्ति बढिसकेको हुन्थ्यो ।’

जवाफदेही लिन अस्वीकार

सुरुमा खोप बनाउने कम्पनी ‘मेडिकल जवाफदेही’ को विषयमा पनि सुरक्षा चाहन्थे । उनीहरु यदि खोप लगाएपछि त्यसको कुनै हानिकारक असर देखिएको अवस्थामा क्षतिपूर्ति कसले दिन्छ ? भन्ने विषयमा पनि जवाफ चाहन्थे । ईयूले यो जिम्मेवारी लिन अस्वीकार गर्‍यो । जैविक उत्पादनको विषयमा धेरै अनिश्चितता हुन्छ । यसलाई विश्वसनीय बनाउन लामो समय र पैसा चाहिन्छ । त्यसैले गत डिसेम्बरमा फाइजरले उत्पादनमा ढिलाइ हुन सक्ने बताउँदा त्यो अनौठो मान्नुपर्ने विषय बनेन ।

जनवरीमा औषधि कम्पनी एस्ट्राजेनेकाले पनि युरोपलाई अर्को धक्का लाग्ने समाचार दियो । युरोपलाई तीन महिनामा नौ करोड कोरोना खोप प्राप्त हुने अनुमान थियो । तर, अनुमान गरिएको एक तिहाइ खोप मात्र ईयूले पायो । यो घटनापछि मानिसहरुले ईयूले खोप खरिदमा हच्किचाएको विषयलाई प्रश्न उठाए । अमेरिका र बेलायतले भने खोपको विकासको लागि जोखिम मोलेका थिए ।

अमेरिका युरोपभन्दा अगाडि

सन् २०२० को सुरुआतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको खतरालाई कम आकलन गरिरहेको अवस्थामा उनको प्रशासनले खोप निर्माणको लागि सहयोग गरिरहेको थियो । यो कार्यमा अर्बौं डलर खर्च भइरहेको थियो ।

करिब ३२ करोड जनसंख्या रहेको अमेरिकाले १० अर्ब डलर रकम खर्च गरेको थियो । त्यस्तै करिब साढे ६ करोड जनसंख्या रहेको बेलायतले पनि यति नै रकम खर्च गरेको थियो । जनसंख्याको हिसाबमा दुई मुलुकभन्दा धेरै रहेको ईयूले भने यसको आधा रकम मात्र खर्च गर्‍यो ।

त्यसो त अमेरिकाले औषधि कम्पनीलाई यस किसिमको सहयोग गरेको यो पहिलोपटक हो । महामारी नियन्त्रणको लागि औषधि कम्पनीसँग मिलेर काम गर्नुको विकल्प नरहेको गत वर्षको अवस्थाले देखाएको थियो । समान्यतया खोपको सुरुआती चरणको नतिजा राम्रो आएको अवस्थामा मात्र अर्को चरणको परीक्षण गरिन्छ । तर, यसपटक भने समय निकै कम रहेकाले प्रतीक्षा गर्नु उचित मानिएन । सबै किसिमको आर्थिक जोखिमबाट बच्न सरकारी प्रक्रियामा नै परिवर्तन गरिएको थियो ।

जोखिमपूर्ण चुनौती

कुनै पनि खोपले अनुमान पाउनुभन्दा पहिला नै अमेरिकाले कम्पनीसँग सम्झौता गरेको थियो । त्यतिबेला सरकारले के पाउनका लागि खोपमा लगानी गररेको थियो त ?

द इकोनोमिस्टकी हेल्थ पोलिसी इडिटर नताशा लोडरका अनुसार गत वर्ष खोपमा लागानी गर्ने समयमा अमेरिका पहिलो कोरोना खोप अमेरिकामै बनेको होस् भन्ने चाहन्थ्यो । त्यसैले अमेरिकाले खोपमा धेरै लगानी गरेको उनको भनाइ छ । त्यस्तै अमेरिकाले आफ्ना सबै नागरिकका लागि खोप पुर्‍याउने योजनाको साथमा खोपको विकासमा लगानी गरेको थियो ।

नताशाका अनुसार खोपमा गरेको लगानीको हिसाबमा भन्ने हो भने बेलायत अमेरिकाभन्दा सफल देखियो । बेलायतले जुनजुन खोपमा लगानी गरेको थियो, ती खोपको नतिजा राम्रो आयो तर अमेरिकाले लगानी गरेको सबै खोपको नतिजा राम्रो रहेन ।

कहिलेसम्म पूरा होला खोप कार्यक्रम ?

युरोपमा ईयूले आफ्ना सदस्य राष्ट्रहरुलाई स्वास्थ्य सेवा कसरी चलाउने भन्ने विषयमा कुनै निर्देशन दिँदैन । यसको निर्णय सम्बन्धित मुलुकले गर्नुपर्ने हुन्छ । त्यसैले अहिले ईयूका मुलुकहरुको बीचमा पनि खोप कार्यक्रमको गतिमा धेरै अन्तर देखिएको छ । एन्टवर्प युनिभर्सिटीका प्राध्यापक वुटर डिवुल्फ भन्छन्, ‘यस्तो मुलुक जहाँको व्यवस्था एकैस्थानमा केन्द्रित हुँदैन, त्यहाँ खोप कार्यक्रम तीव्र गतिमा हुनुपर्छ । त्यहाँ अघि बढ्न सजिलो हुन्छ । स्पेन र बेल्जियम यस्तै मुलुक हो । नेदरल्याण्ड र फ्रान्सजस्ता मुलुक पछि पर्न सक्छन् ।’

यस्तो अवस्थामा मुलुकको समग्र शक्ति कुनै एकैस्थानमा केन्द्रित गर्नु नहुने डिवुल्फ बताउँछन् । बेल्जियम र डेनमार्कले सोही नीति अख्तियार गर्दै मुलुकमा तीव्र गतिमा खोप कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।

सक्रियता बढाउनु जरुरी

यदि ईयूका मुलुकले औषधि कम्पनीहरुसँग निकै राम्रो साझेदारी गरे पनि अमेरिका र बेलायतले पाएको जस्तो सफलता पाउन गाह्रो छ ।

यस्तोमा यो महामारीले मुलुकमा केही न केही खोप कम्पनी हुनु जरुरी छ भन्ने सन्देश दिएको छ । यद्यपि अमेरिका र बेलायतले आफ्नै लागि खोपको विकास गरे पनि अन्य मुलुकलाई पनि खोप दिने भरोसा उनीहरुले दिलाएका छन् । तर, अब अन्य मुलुकले भने सक्रियता बढाउनु जरुरी छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *