कथा : बा, तपाईंको मोबाइल चल्यो !

कथा : बा, तपाईंको मोबाइल चल्यो !


 

‘हेर त बाबु, यो मोबाइल एकपटक के भएको रहेछ ?’ शिरमा अलि पुरानो ढाका टोपी, काँधमा गलबन्दी भिरेका अधबैंसे पुरुषले सोधे ।

मोबाइल पसलमै मोबाइल मर्मत गर्ने पनि सुबिधा छ । एकजना २०/२२ वर्षे केटा र एकजना केटी पसलको काउन्टरमा अग्लो स्टुलमा बसेर टाउको झुकाउँदै आ-आफ्नै मोबाइलमा व्यस्त थिए । पसलको दाहिने कुनामा सिसाले बारेर बनाएको सानो काउन्टरभित्र मोबाइल मर्मत गर्ने टेबल छ । दुईजना केटाहरू मोबाइल बनाउन ब्यस्त छन् |

बिस्तारै टाउको उठाउँदै करिब ३० वर्षे केटाले भने ‘खोइ दिनुस् त बा ।’

अंक थिचेर डायल गर्नुपर्ने पुरानो मोबाइल, सिसाको प्वालबाट हात छिराउँदै दिन खोजे ।

पुरानो मोबाइल देख्ना साथै भनें ‘बा यो बन्दैन ।’

‘किन बाबु ?’

‘यहाँ टचस्क्रिन नयाँ मोबाइलमात्रै मर्मत हुन्छ । यो पुरानो सामान पनि पाउँदैन, बन्न पनि गाह्रो हुन्छ|’

‘एकपटक कोसिस गरिदेऊ न बाबु । यो बिग्रेदेखि कुरै गर्न पाएन |’

उता सेल्स काउन्टरमा बसिरहेको केटोले भने ‘बा नयाँ किन्नुस् ।’

बाले पुलुक्क हेरेँ, तर चुप लागेर सुने ।

‘बाबु एकपटक खोलेर त हेरिदेऊ । बन्न सक्छ कि ?’

मोबाइल बनाउँदै गरेको केटोले टाउको नउठाई, बनाउँदै गरेको मोबाइलमै हेर्दै, हात सिसाको प्वाल तिर तन्काए । बाले मोबाइल हातमा राखिदिए । हातले मोबाइल लिएर थपक्क साइडमा राखेर, आफ्नै काममा ब्यस्त भए । बा एकछिन पर्खेर बसे ।

‘बा नयाँ किन्नुस् न । सस्तो सस्तोमा राम्रो राम्रो मोबाइल छ ।’ काउन्टरकी केटीले हेर्दै भनिन् ।

‘नानी, यही मोबाइल बने अर्को किन चाहियो नि ? कुरा गर्न भैहाल्छ ।’

‘नयाँ मोबाइलमा भिडियो हेर्न मिल्छ, अनुहार हेरेर कुरा गर्न मिल्छ, गीत सुन्न मिल्छ, धेरै कुरा गर्न मिल्छ नि बा ।’ केटीले मुस्काउँदै बालाई मोबाइलको महत्व सम्झाउन कोसिस गरिन् ।

‘होस् नानी, मलाई त्यो सप्पै गर्न नि आउँदैन । कुरा गर्न पाए पुगिगयो ।’ बाले यत्ति भने ।

बाको आँखा मोबाइल बनाउने टेबल वरिपरि घुमे । आठ दशवटा, आफ्नोभन्दा ठूलो मोबाइल छरपस्ट थिए । कुनै खोलेर राखेका, कुनै त्यत्तिकै ।

बालाई थाहा नभएको होइन, ठूलो मोबाइलमा केटाकेटी किन झुमिन्छन् भनेर । कोही गेम खेल्न, कोही फोटो खिच्न, कोही भिडियो बनाउन, कोही कसले के फोटो राख्यो के भन्यो भनेर बुढी औंला चलाउँदै हेर्न । यो मोबाइलले गर्दा- नकसैसँग केही कुरा, नकसैलाई केही सहयोग । नकोहीसँग भौतिक खेल खेल्ने, नकेही काम गर्ने । ढाड बङ्ग्यायो, आँखा टँसायो, औंला चलायो, फिस्सफिस्स हाँस्यो – बस् ।

भित्रभित्र मनमा लाग्यो पनि । यो ठूलो मोबाइल किनें भने, नातिले लिएर चलाइरहन्छ । बेकारमा नातिको बानी मात्र बिग्रिन्छ । यही मोबाइल त कहिलेकाहीँ ट्याँट्याँ टुइँटुइँ गरिरहन्छ । छोराले दुबईबाट नभनेको नि होइन । तर, पनि किन्न मन लागेन । बिनासित्ति किन पैसा खर्च गर्नु ?

‘यत्रो विधि मोबाइल बिग्रेर बनाउन ल्याएका ?’ बालाई उत्सुकता जागेर सोधे ।

मोबाइल बनाउने केटोले पुलुक्क हेरे मात्र, बोलेनन् ।

त्यत्तिकैमा दुई जना केटाहरू पसलमा आए ।

‘नयाँ मोबाइल कुन आ’छ ?’ एउटाले सोधे ।

एकपछि अर्को नयाँ सेट सोकेशमाथि राख्दै भने ।

‘यो ब्राण्डमा क्यामेरा एकदम राम्रो छ, यसको टच पहिलेभन्दा भिन्नै छ, यसको साउण्ड सिस्टम गज्जबको छ ।’ यस्तै यस्तै धेरै कुराहरू प्रस्ट्याउँदै गए, पसलकी केटीले ।

केटाले साथीलाई सोधे ‘तेरो अहिले चलाइराखेकै राम्रो छ नि, किन फेर्नुपर्‍यो अहिल्यै ?’

‘ह्या, अलि ह्याङ हुन थाल्यो के ।’

‘चल्न त चलिराख्या छ नि|’

‘चल्या त छ ।’

‘अनि के गर्छस् त यसलाई ?’

‘सके सेकेण्ड ह्याण्ड बेच्छु, नभए यत्तिकै बस्छ नि ।’

‘यसको कति ?’ अलिक फरक, ठूलो, चारवटा क्यामेरा भएको हेर्दै देखाए ।

‘………………’

कुरा गर्दागर्दै एउटा किने र अनुहारमा भिन्नै चहक र फूर्ति बोक्दै पसल बाहिरिए ।

यता बाले नियालेर हेरी बसे । मनमनै गुन्दै बसे । एउटा काम गरिरहेकै छ, अर्को किन चाहिया होला ? उमेर हेर्दा कलेज पढ्ने जस्ता छन् । यो मोबाइलमा फोन, फोटा, भिडियोमात्र हेर्छन् कि पढ्ने नि गर्न मिल्छ वा पढ्छ ? बाउआमाले नि कति धेरै पैसा दिएर पठाएका होलान् ? अब अर्को के गर्लान् ? आदि इत्यादि मनमा खेलाए ।

‘हेरिदिनु भो बाबु, मेरो मोबाइल ?’

‘छैन बा, अब हेर्छु ।’

‘अलि छिटो गर्ने कि? मेरो गाउँ जाने बस छुट्छ फेरि ।’

‘बा, तपाईं नि एउटा नयाँ मोबाइल लिनुस् ।’

‘पर्दैन बा । त्यहीँ चले भो । चल्दाचल्दै अर्को किनेर थन्क्याउन थाल्यो भने त कहाँसक्नु हामीले ।’

‘किन नसक्नु, बा ।’ त्यत्तिकै जवाफ दिइहाल्यो । व्यावहारिकभन्दा पनि व्यावसायिक । एउटा थप मोबाइल मात्र बिक्न सके नि फाइदा ।

मोबाइल बेच्ने नानीभन्दा पनि यता मर्मत गर्ने बाबुतिरै ध्यान मोडियो, बाको ।

‘बाबु यो बनाउन आएको मोबाइल सबै बन्छ ?’

‘कुनै बन्छ, कुनै बन्दैन ।’

‘नबनेको के गर्नुहुन्छ ?’

‘कुनै लिन आउँछ, धेरैजसो यत्तिकै थन्किन्छ ।’

‘यो बिग्रेको, थन्केको मोबाइल के गर्नुहुन्छ नि ?’ बाले उत्सुकुताबस सोधे ।

एकछिनसम्म जवाफ आएन ।

‘धेरै त थन्केरै बस्छ । ऊ त्यस्तो |’ भन्दै पछाडिको र्‍याकतिर देखाए । ‘कहिलेकाहीँ सार्है पुरानो, यत्तिकै फालिन्छ|’

बाको मनमा फेरि कुरा खेले । “यत्तिका मोबाइल पसल छन् । सबैका हातहातमा मोबाइल छन् । यो पुरानो हुँदै, फेरिँदै, नयाँ किन्दै, काम नलाग्ने फालिँदै गर्दा – कति धेरै फोहोर थुप्रिने हुन् | फेरि कुहिने त पक्कै होइन होला|”

‘बाबु, यो आवस्यकै नपरिकन मोबाइल धेरै बटुल्दा वा फेरिरहँदा, वातावरणलाइ पनि खराब भएन र भन्या ?’

बाको यस्तो कुरामा कसैको ध्यान गएन ।

एकछिन खिन्न मन भयो ।

“हुनत मोबाइलको मात्र के कुरा भयो र ? उहिले जाडोको लुगा बल्ल एकजोर हुन्थ्यो आफूसँग । अहिले ज्याकेट नै ४ वटा छ । जुत्ता एक जोर फेर्न २/३ वर्ष कुर्नुपर्थ्यो । अहिले २/३ जोर छ । यो सामानहरू त उपलब्ध भएकै हो । सहरमा मात्र किन – गाउँगाउँमै पनि पुगेकै हो |”

“तर के हामीले आवश्यकमात्र प्रयोग गरेका छौं त ? अनावश्यक पनि बटुलेका त छैनौं ?” बाको दिमाग चलिराख्यो ।

‘बा, तपाईंको मोबाइल चल्यो । लिनुस् ।’

बा खुसी भए ।

मोबाइल लिएर खल्तीभित्र राख्न खोज्दा ट्याँट्याँ गर्दै म्यासेज आएको आवाज आयो ।

बा पैसा तिरेर पसल बाहिरिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *