औपचारिक रुपमा खुलेन नाका, तर आउजाउ खुल्यो (हेर्नुहोस भिडियो)


बाँके, ११ माघ ।

नेपालगन्ज नाका भएर आउजाउ गर्न केहि सहज भएको छ । कोरोना संक्रमण दर घट्दै गएपछि नेपाल र भारतका सुरक्षाकर्मीले सर्वसाधारणलाई सहज रुपमा आउजाउ गर्न दिएका हुन् । भारतीय पक्षले दुई महिनाअघि देखि नै आउजाउमा खुकुलो गरे पनि नेपाली पक्षले १ माघदेखि केहि खुकुलो गरेको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख प्रहरी नायव निरीक्षक बिष्णु गिरिले बताए ।
उनले किनमेल र औषधि उपचारका लागि भारत जान छुट दिएको बताए । तर, सीमानाका खुलेको औपचारिक पत्र आएको छैन । ‘ब्यवहारिक रुपमा किनमेल र उपचारका लागि जानेहरुलाई केहि सजिलो बनाई दिएका छौँ,’ उनले भने, ‘नाका पूर्ण रुपमा खुलेको भन्न मिल्दैन, तर पहिलेको भन्दा केहि सहज चाहि पक्कै छ ।’
पछिल्लो समय भारत आउजाउ गर्न कुनै समस्या नभएको नेपालगन्ज उपपमहानगरपालिका–७ का मोइनुद्दिन खानले बताए । उनले भारत जान कुनै रोकतोक नभएको बताए । ‘लकडाउन हटे पनि भारत जान ठूलो संघर्ष गर्न पथ्र्यो । दिनभर लाइन लागेर पनि भारत जान पाइदैन्थ्यो । अहिले आउजाउमा कुनै रोकतोक छैन,’ उनले भने ।
शनिबार झण्डै पाँच हजार जना किनमेलका लागि भारत प्रस्थान
नेपालगन्ज नाका खुकुलो भएपछि किनमेलका लागि सीमाबर्ती भारतीय बजारमा जानेको भीड लागेको छ । शनिवार मात्र झण्डै पाँच हजार सर्वसाधारण किनमेलका लागि भारत प्रस्थान गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख गिरिले बताए ।
किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपइडिहा जाने र नेपालगन्ज आउनेलाई मोटरसाइकल ल्याउन–लैजान दिइदैन । किनमेलका लागि रुपईडिहा जानेहरुको मोटरसाइकलले जमुनाह भरिने गरेको छ । ‘शनिवार मात्र तीन हजार भन्दा धेरै मोटरसाइकल जमुनाह बजारमा पार्किङ गरिएको थियो । पैदल, साइकल, रिक्सा र गाडीमा आउनेको संख्या पनि उस्तै थियो,’ होटल ब्यवसायी संघ, नेपालगन्जका बरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बुले भने, नेपाल आउने भन्दा किनमेलका लागि भारत जानेको संख्या धेरै थियो ।’

मजदुरीका लागि नेपालगन्ज आउनेको संख्यामा बृद्धि
नाका खुकुलो भएपछि मजदुरीका लागि नेपालगन्ज आउने भारतीयको संख्या पनि बढेको छ । भारतीयहरु मजदुरीका लागि साइकलमा नेपालगन्ज आउने गरेका छन् । मजदुरीका लागि नेपालगन्ज आउन सहज भएको नेपालगन्जमा भेटिएका रुपइडिहाका एक भारतीयले बताए । उनी भन्छन्, ‘पछिल्लो समय मजदुरीका लागि नेपालगन्ज आउन कुनै रोकतोक छैन । सुरक्षाकर्मीले सोधपुछ गरेर सहजै आउजाउ गर्न दिन्छन् ।’
साइकलमा आएका मजदुर बेलुकी भारत फर्किने गरेको जमुनाह प्रहरी इन्चार्ज गिरिले बताए । ‘दिनभर काम गरेर बेलुकी आफ्नो घर फर्किन्छन्,’ उनले भने ।
नाका खोल्न सर्वसाधारणको माग
नाका बन्द गर्नुको कुनै औचित्य नभएको भन्दै राजनीतिक दल र नागरिक समाजले नाका खोल्न माग गरेका छन् । जनता समाजबादी पार्टी, बाँकेले नाका खोल्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नाका बन्द गर्नुको कुनै औचित्य नभएको ठहर गरि नाका खोल्न माग गरेको जनता समाजबादी पार्टीका नेता रामकुमार दिक्षितले बताए ।
उनले नाका बन्द गरेर राज्यले जनतालाई दुख दिएको बताए । कोरोनाको नाममा सरकारले नेपाल–भारत नाका बन्द गरेर नेपाली जनतालाई दुख दिने काममात्र गरेको छ । नाका बन्द गर्नुको कुनै औचित्य छैन । नाका खोलेर आउजाउ सहज बनाउनु पर्छ,’ उनले भने ।
जिल्ला विकास समिति, बाँकेका पूर्व सभापति पशुपतिदयाल मिश्रले पनि नाका बन्द गर्नुको कुनै औचित्य नभएको बताए । उनले सरकारको निर्णय अनुसार २९ पुसपछि नाका स्वतः खुलेको बताए । ‘सरकारको तर्फबाट नाका खुल्ला भइसक्यो । तै पनि सहज रुपमा आउजाउ गर्न दिइएको छैन । नाका खोलेर सहज रुपमा आउजाउ गर्ने बातावरण सरकारले मिलाउनु पर्यो,’ उनले भने ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *