औद्योगिक क्षेत्रलाई चालु आ.व.मा ६१ करोड


बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि क्रमागत रुपमा बजेट सुनिश्चित भएपछि मंगलबारबाट निर्माणको शिलान्यास गरिने भएको छ । नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले मंगलबार औद्योगिक क्षेत्र निर्माणको शुभारम्भ संघीय सरकारका उद्योग मन्त्री लेखराज भट्टले गर्ने जानकारी दिएका छन् । नौबस्तामा औद्योगिक क्षेत्रको योजना सुरु भएसँगै नौबस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालय पनि सञ्चालनमा रहेको छ । जहाँको प्रमुख जिम्मेवारी पुनले नै हेर्दै आएका छन् ।

संघीय सरकारले नौबस्ता औद्योगिक क्षेत्रका लागि चालु आ.व. मा ६१ करोड लगानी बजेट खर्च गर्दैछ । उक्त बजेटबाट औद्योगिक क्षेत्रका लागि जग्गा सम्याउने, खाल्टो खाल्टी पुर्ने, प्लट बनाउने लगायत कार्य हुनेछन् । सडक ट्रयाकको सम्भावना र त्यसका लागि काम पनि चालु आ.व.मा नै बढाउने योजना रहेको छ ।

बाँकेको बैजनाथ गाउँपालिकामा ३ सय ३८ विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । तर, औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा मानिसहरुको बस्ती समेत रहेको छ । जसले समाधान अझै हुन सकेको छैन । यसअघि डिपिआर भैसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्यांकनमा भएको अवस्थामा पनि त्यहाँ बसोबास गर्नेको त्यही वा अन्यन्त्र विकल्प दिने भन्ने निश्चित भैसकेको छ ।

औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २ सय ५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्यांक संकलन भएको थियो । तर, स्थानीय घरधनीहरुको संघर्ष समितिले त्यो संख्या झण्डै डबल रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ । ‘औद्योगिक क्षेत्रमा रहेका भूमिहीन तथा सुकुम्बासीको एकिन तथ्यांकका लागि अहिले स्थानीय तहसँग समन्वय गरिरहेका छौं’, नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले भने, ‘औद्योगिक क्षेत्रका लागि छुट्याइएको १० प्रतिशत भुभागमा मात्रै समस्या हो ।’

औद्योगिक क्षेत्रका लागि उद्योग स्थापनाका लागि यसअघि आवेदन समेत माग गरिएको थियो । सुरुमा आवेदन माग्दा २ सय ५० उद्योगीले उद्योग स्थापनाका लागि आवेदन गरिसकेका छन् । हाल औद्योगिक क्षेत्र नेपालगन्जमा ३६ वटा उद्योग रहेका छन् । नेपालगन्जको औद्योगिक क्षेत्रमा उद्योग थप्दै जान क्षेत्रफल लगायत विभिन्न खालका समस्या छन् । व्यवस्थित रुपमा उद्योग सञ्चालनका लागि नौबस्तामा औद्योगिक क्षेत्रको काम अगाडि बढाइएको हो ।

The publish औद्योगिक क्षेत्रलाई चालु आ.व.मा ६१ करोड appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *