एएफसी कप हाम्रोलागि ठूलो अवसर हो : भरत खवास

एएफसी कप हाम्रोलागि ठूलो अवसर हो : भरत खवास


२० चैत, काठमाडौं । सोमबार सम्पन्न त्रिदेशीय कप फुटबलको उपाधि जितेका फरवार्ड भरत खवास र गोलकिपर विकेश कुथु अर्को खेलको तयारीमा लागिसकेका छन् । त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) का खेलाडी रहेका यी दुई खेलाडी एएफसी कपको खेलका लागि तयारीमा लागेका हुन् ।

आर्मीले यही चैत २५ गते घरेलु मैदानमा श्रीलंका पुलिससँग एएफसी कप २०२१ को प्रिलिमिनरी राउण्डको खेल खेल्दैछ । गत सिजनको ए डिभिजन लिग मच्छिन्द्र क्लबले जिते पनि एएफसी क्लब लाइसेन्स प्राप्त गरेकाले आर्मीले उक्त अवसर पाएको हो । आर्मी क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब समेत बनेको छ । जसले गर्दा ए डिभिजन लिगमा उपविजेता भए पनि आर्मीले यो अवसर पाएको हो ।

एएफसी कपको समूह चरणका पुग्न आर्मीले प्लेअफका खेलहरु खेल्नुपर्ने हुन्छ । जसले गर्दा घरेलु मैदानमा हुने पहिलो खेल महत्वपूर्ण छ । ‘एएफसी कप प्लेअफ अन्तर्गत श्रीलंका पुलिसविरुद्ध खेल्दैछौँ । त्रिभुवन आर्मी फुटबल क्लबका लागि त्यो एकदमै महत्वपूर्ण म्याच हो,’ आर्मीका कप्तान भरत खवासले अनलाइनखबरसँग भने, ‘एउटा इतिहासमा त्रिभुवन आर्मी क्लब पहिलो एएफसी क्लब लाइसेन्स लिने पहिलो क्लब पनि भयो । अर्को अन्तर्राष्ट्रिय अनुभव लिने यो ठूलो प्ल्याटफर्म पनि हो । अवसरहरु छन् र चुनौती पनि छ ।’

भरतले त्यसका लागि सबै खेलाडीहरु मानसिक रुपमा तयार फिट रहेको बताए ।

आर्मीले श्रीलंका पुलिसलाई पराजित गरेमा अर्को खेल भारतको बेंगलुरुसँग खेल्नेछ । त्यसपछि अर्को एउटा प्लेअफ फाइनल हुनेछ । बेंगलुरुलाई पनि जितेमा आर्मीले प्लेअफ फाइनल खेल्न पाउनेछ । फाइनल खेल जिते मात्र समूह चरणका लागि छनोट हुनेछ । समूह ‘डी’ मा दक्षिण एसियाली देशकै क्लबहरु छन् जसमा भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन् ।

आर्मीले एएफसी कपको तयारी स्वरुप घरेलु मैदानमै किर्गिस्तानको यु-२३ टिमसँग अभ्यास खेल खेल्ने अवसर पनि पायो । आइतबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्लो । थ्री नेशन्स कप खेल्न नेपाल आएको किर्गिस्तानले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाले आर्मीसँग खेल व्यवस्था गरेको हो ।

आर्मीका कप्तान भरत खवास र गोलकिपर बिकेश कुथु भने राष्ट्रिय टिममा रहेकाले उक्त खेल खेलेनन् । तर थ्री नेशन्सको टिममा नपरेका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ, विकास खवासले  किर्गिस्तानविरुद्ध खेले ।

यसले पनि आर्मीको टिमलाई ठूलो सहयोग पुगेको छ । ‘किर्गिस्तान यू-२३ टिम विरुद्धको खेल हेर्न म पनि गएको थिए, राष्ट्रिय टिममै भएकाले मैले खेलिनँ । हाम्रो खेलाडीले राम्रो प्रदर्शन गरे,’ भरतले भने, ‘म र विकेश पनि टिममा हुँदा अझै बुस्टअप हुन्छ जस्तो लाग्छ । हामीले पनि त्रिभुवन आर्मी क्लबबाट खेलेको ८/९ वर्ष भयो । हामी टिममा समावेश भएपछि अझै टिम बुस्टप हुन्छ जस्तो लाग्छ किनकी केटाहरु एकदमै फिट छन् ।’

किर्गिस्तानविरुद्ध खेल्दा टिममा रहेको कमीकजोरी पनि थाहा भएको त्यसलाई सुधार गर्ने भरतले बताए ।

भरत र विकेश बाहेक अन्य खेलाडीहरु आर्मी टिमसँगै प्रशिक्षण गरिरहेका छन् । थ्री नेशन्स कपमा नपरेपछि नवयुग जर्जप्रिन्स सन्तोष र विकास राष्ट्रिय टिमको क्याम्पबाट रिलिज भएका थिए । त्यसपछि मात्र उनीहरु आर्मी टिममा फर्किएका हुन् ।

आर्मीले घरेलु मैदानमै खेल्ने भएकाले दर्शक र मैदानको साथ पनि हुनेछ । कप्तान भरतले दर्शक १२औं खेलाडीको रुपमा हुने भएकोले फाइदा हुने बताए । उनले भने, ‘हामीले घरेलु मैदान दशरथ रंगशालामा खेल्दैछौँ । हामीलाई घरु दर्शकको समर्थन पनि हुन्छ । विपक्षी ११ जना हुँदा हामीलाई १२औं खेलाडीको रुपमा दर्शकको साथ पनि हुन्छ । जसले गर्दा हामी १२ जना खेल्छौँ जस्तै हुन्छ । जसले गर्दा पनि एडभान्टेज हुन्छ ।’

जितकै लागि खेल्छौँ :प्रशिक्षक न्यौपाने

प्रशिक्षक नवीन न्यौपानेले यो आर्मीको लागि मात्र नभएर देशकै प्रतिष्ठासँग जोडिएको खेल भएको बताए । ‘निश्चय नै यसले अर्थ राख्छ,’ उनले भने । उनले हेटौडौंमा क्यामरुनी क्लबसँग र दशरथ रंगशालामा किर्गिस्तानसँग खेलेपछि टिमले तयारीमा पनि सहयोग पुगेको र कसरी खेल्ने बुझ्ने अवसर पाएको बताए ।

‘श्रीलंकन पुलिसको बारेमा पनि हामीले त्यही अनुसार अधययन गरिरहेका छौँ । तयारीका लागि हामीले दुई तीनवटा मैत्रीपूर्ण खेल खेल्नुपर्ने थियो । त्योचाहिँ हेटौँडामा क्यामरुनी टिम र किर्गिस्तानसँग खेलेपछि फाइदा भयो । क्यामरुनको टिमसँग फिजिकल गेम खेल्यौँ, टप गेममा हरायौँ । किर्गिस्तानसँग प्रदर्शन राम्रै भयो,’ न्यौपानेले भने, ‘यी दुई म्याचले गर्दा फिजिकल टिमसँग खेल्दा र इन्टरनेशनल टिमसँग खेल्दा कसरी खेल्ने थाहा भयो । अनुभवको कमजोरी हुने हो कि भन्ने थियो अब त्यो भएन ।’ न्यौपानेले आर्मीले ३-४ महिना अघिदेखि नै एएफसी कपको लागि तयारी गरेको बताए ।

आर्मीले एएफसी क्लब लाइसेन्स पाएपछि नै तयारी सुरु गरिसकेको थियो । त्यसमा पनि आर्मीको प्रशिक्षण जहिल्यै भइरहेको हुन्छ ।

सुरुमा कन्डिसन पार्टको ट्रेनिङ गराउने तयारीमा रहेको आर्मीका ९ खेलाडी राष्ट्रिय टिमको क्याम्पमा परेपछि क्यापमै त्यो काम भयो । जसले आर्मीलाई फाइदा पनि भयो । ‘९ जना राष्ट्रिय टिमको क्याम्पमा गएपछि राष्ट्रिय टिममा पनि त्यही नै गराउने हो भनेपछि हाम्रो लागि फाइदा नै भयो । ९ जना खेलाडी बोलाउन पनि ठूलो कुरा हो । त्यहाँ गएपछि हामीलाई प्लस प्वाइन्ट भयो,’ प्रशिक्षक न्यौपानेले भने ।

आर्मीले राष्ट्रिय टिमको क्याम्पमा गएका खेलाडीबाहेक पनि मोफसलमा दुई प्रतियोगिता खेलेर जित्यो । ‘हामीले तयारीकै सिलसिलामा दुई वटा नकआउट टुर्नामेन्टमा सहभागिता जनायौँ । जनकपुर र हेटौँडामा हामीले दुवै प्रतियोगिता जित्यौँ । तयारी त्यही अनुसार भइरहेको थियो, ‘ उनले भने ।

न्यौपानेले घरेलु मैदानको फाइदा पनि आर्मीलाई हुने भएकोले जित्नकै लागि खेल्ने बताए । ‘एएफसी कपमा होम एडभान्टेज हुन्छ । मोर्डन फुटबल अनुसार प्रेसिङ गेम अगाडि बढाइराछु । श्रीलंकन पुलिससँग खेल्दा अट्याकिङ खेल खेल्ने हो । त्यो प्रेसिङ गेममा गत सिजन लिगमा पनि सफल भएको थिएँ । लास्ट म्याचमा मात्र सफल हुन सकेन । केटाहरुले खेल्ने स्टाइल बुझिसके,’ न्यौपानेले भने, ‘हामी अट्याकिङ र प्रेसिङ गेम नै खेल्छौँ । त्यसबाट रिजल्ट आउँछ भन्ने आशावादी छौँ ।’

उनले यस खेलमा जितको विकल्प नरहेको बताए । ‘श्रीलंकन पुलिसलाई जितेर बेगलुरुसँग खेल्नुपर्छ । हामीसँग अर्को कुनै विकल्प छैन ड्र गर्ने वा यसो गर्ने भनेर । त्यसैले हामी जितकै लागि खेल्छौँ र जसरी पनि जित्नैपर्छ,’ उनले भने ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *