‘आधा सिट खाली राखेर पनि हल चलाउन तयार छौं’

‘आधा सिट खाली राखेर पनि हल चलाउन तयार छौं’


कोभिडको हामीले चैत्र ५ गतेदेखि हल बन्द गर्‍यौं । त्यसयता मुलुकभर रहेका २ सयभन्दा बढी हल अझै बन्द अवस्थामै छन् । कहिले खुल्छन् भन्ने टुंगो छैन ।

क्यूएफएक्सको मात्र राजधानीलगायत देशभरमा १२ वटा हल छन् । यसमा २७ स्क्रिन छन् । अधिकांश मल्टिप्लेक्स हल हुन् जो, सिभिल मल, लबिम मल, भाटाटेनी जस्ता विजनेस कम्प्लेक्समा छन् । त्यसबाहेक पोखरा, नारायणघाट, नेपालगन्ज, बिर्तामोड लगायतमा हामी फ्रेन्चाइज मोडलमा फैलिएका छौं ।

सामान्य दिनमा क्यूएफएक्सको दैनिक औसत कारोबार ७/८ लाख हो । यो कारोबार सिनेमाको टिकट र फूडकोर्टबाट हुने हो । क्यूएफएक्समा स्थायी तीन सय पचास कर्मचारी थिए र उत्तिनै संख्यामा अस्थायी कर्मचारी । अहिले उनीहरु बेतलबी बिदामा छन् । हल पूर्णतय ठप्प हुँदा हामी स्वत ऋणात्मक अवस्थामा छौं । अहिले बन्द भएका हलहरुको भाडालगायत खर्च छन् ।

भक्तपुरको भाटभाटेनी र बुटवलमा नयाँ हल खोल्दा लागेको लगानीले पनि हाम्रो आर्थिक भार थपिदिएको छ । आयको स्रोत ठप्प छ, उता बैंक कर्जा बढ्दो छ । यो स्थितीमा हल भाडामा पचास प्रतिशतसम्म घटाउनका लागि हामीले आग्रह गरेका छौं । हलका उपकरणहरु लामो समय नचलाउँदा बिग्रने डर हुन्छ । त्यसैले बेलाबखतमा ति उपकरण चलाउन, मर्मत गर्नका लागि बेग्लै प्राविधिक खटाएका छौं ।

नाफाघाटाको लेखाजोखा आफ्नो ठाउँमा छँदैछ, त्यो भन्दा महत्वपूर्ण कुरा चाहि अब कसरी अगाडि बढ्ने भन्ने हो । यस सन्दर्भमा हाम्रो टिमबीच पर्याप्त छलफल र तयारी भइरहेको छ । यसै अन्र्तगत हामीले आफ्नो कार्ययोजना पनि बनाएका छौं र सम्बन्धित निकायमा बुझाएका छौं । सम्भवत: चलचित्र विकास बोर्डसम्म त्यो पुगिसकेको हुनुपर्छ ।

सिनेमा हललाई कसरी सुरक्षित मनोञ्जनको थलो बनाउने भन्नेमा हाम्रो गृहकार्य जारी छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्णताका साथ अपनाएर कसरी हल सञ्चालन गर्न सकिएला भनी हामीले केही उपाय निकालेका छौं । ती यसप्रकार छन्ः

१. सराकारले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्णताका साथ पालना गरेर हल खोल्ने ।

२. मास्क लगाउने, सेनिटाजर प्रयोग गर्ने, शारीरिक दूरी कायम गर्ने ।

३. ‘टच प्वाइन्ट’ टिकट घर, इन र एक्जिट ढोका, फूडकोर्ट, वासरुममा भिड गर्न नदिने ।

४. टिकेटिङ कारोबार अनलाइनमार्फत मात्र हुने ।

५. पचास प्रतिशत अकुपेन्सी अर्थात क्षमताभन्दा ठीक आधा दर्शक मात्र राख्ने ।

घाटा सहन तयार

अहिलेको अवस्थामा भारत लगायतका मुलुकहरुमा हल सुचारु भएका छन् । भलै हलमा दर्शक अपेक्षाकृत नआए पनि । हललाई सून्य अवस्थामा छाडेर त भएन नि । त्यसैले हामी पनि अब हल खोल्नुपर्छ भनेर तयारीमा जुटेका छौं ।

हल वा मनोरञ्जन भन्दा ठूलो कुरा मानव स्वास्थ्य हो । मानव स्वास्थ्यलाई जोखिममा राखेर हल सञ्चालन गर्न हाम्रो मानवताले पनि दिदैन । तर, सुरक्षाका सम्पूर्ण विधीहरु अपनाएर दर्शकहरुलाई निर्धक्कसाथ हलसम्म आउने वातावरण बनाउन सकिन्छ । त्यसो भयो भने घाटामै पनि हामी हल संचालन गर्न तयार छौं । पचास प्रतिशत अकुपेन्सी भनेको घाटाको व्यापार नै हो । तर, सिनेमा हललाई गतिशील बनाउनका लागि हामीले त्यो कुरामा सम्झौता गर्नैपर्नेछ ।

पचास प्रतिशत अकुपेन्सी भनेको घाटाको व्यापार नै हो । तर, सिनेमा हललाई गतिशिल बनाउनका लागि हामीले त्यो कुरामा सम्झौता गर्नैपर्नेछ

हाम्रो कामना छ, अब स्थिती बिस्तारै सामान्य हुनेछ । सिनेमाहरु निर्माण हुनेछन् । दर्शकहरु हलसम्म आउनेछन् । यदि यसो भयो भने पनि हामीलाई अहिलेको घाटापूर्ति गर्न अझै धेरै समय लाग्नसक्छ । त्यसैले अब राम्रो सिनेमाहरु निर्माण हुनुपर्छ । खासगरी स्वदेशमै राम्रो सिनेमाहरु बन्ने हो भने हलहरु पुरानै लयमा फर्कनेछन् ।

दर्शकको मुडमा भर

सिनेमा हल सञ्चालनका लागि दुईवटा कुरा महत्वपूर्ण हुनेछ । पहिलो त, कन्टेन्ट अर्थात राम्रो सिनेमा आउनुपर्‍यो । दोस्रो, दर्शकहरुले सुरक्षित अनुभव गरेर हलसम्म आउने र फर्कने माहौल तयार हुनुपर्‍यो ।

कोभिडकै अवस्थामा हलिउडको बिग बजेट फिल्म ‘मुलान’ विश्वरभर सार्वजनिक भयो । तर, दर्शक आइदिएनन् । भारतमा पनि सिनेमा हल खुल्ला भयो तर, अपेक्षाकृत चलेका छैनन् । दर्शकलाई अहिले कोभिडको भय छ । यदि हामीले शारीरिक र मानसिक दुबै रुपमा सुरक्षाको प्रत्याभूत गराउन सक्ने हो भने क्रमश दर्शक आउन थाल्नेछन् । एकै पटकमा पहिले जस्तो हल भरिभराउ हुने अपेक्षा गर्न नसकिएला । यद्यपि बिस्तारै अभ्यस्त हुँदै जानेछन् र हलको लय पुरानै गतिमा फर्कनेछ ।

त्यसो त यसमा हामीले मात्र जोडबल गरेर पनि हुनेवाला छैन । सिनेमा भनेको ठूलो टिमवर्कबाट मात्र तयार हुने हो । यसमा निर्माता तयार हुनुपर्‍यो, वितरक तयार हुनुपर्‍यो । यस्तो अवस्थामा सिनेमा निर्माण गर्न वा प्रदर्शन गर्न निर्माताहरु कति उत्सुक होलान् ? आफ्नो लगानीको प्रतिफल उठ्ने कुरामा उनीहरु कति ढुक्क होलान् ? अर्थात दर्शकको मुड, फिल्ममेकरको तयारी सबै कुरा मिलेपछि न हल खुल्ने हो ।

अर्को कुरा के पनि हो भने, त्रासदीको यो क्षणमा मान्छेलाई मनोरञ्जनको खाँचो हुन्छ । पछिल्लो केही अध्ययनहरुले कोरोनापछि डिप्रेसनको बढ्दो ग्राफ पनि देखाइसकेको छ । मान्छेहरु लामो समय घरभित्रै बस्न बाध्य छन् । चाडपर्व, उत्सवहरुमा खुलेर रमाउन पाएका छैनन् । यसले एक किसिमको मानसिक असर त परेकै होला । हुन त म यस विषयको ज्ञाता होइन । तर, अहिलेको अवस्था हेर्दा मान्छेमा निरासा र वेचैनी बढेको हुनसक्छ भनेर अनुमान गर्न गाह्रो छैन । यस्तो अवस्थामा सिनेमा जस्तो माध्यमले एक किसिमको थेरापीको काम गर्नेछ भन्ने मलाई लाग्छ ।

बलियो ‘कन्टेन्ट’ आवश्यक

हल खोलेर मात्र पनि भएन । हल सञ्चालनको लागि सिनेमा त चाहियो । सिनेमा पनि जस्तोसुकै भएर भएन । दर्शकहरुलाई हलसम्म तान्न सक्ने हुनुप¥यो । बल्लबल्ल हल खोलेर पुरानो सिनेमा दोहोर्‍याउँने कुरा आउँदैन ।

हुन त कोभिड अगाडि धेरै सिनेमा प्रदर्शनको तयारीमा थिए, जो अहिले थन्किएका छन् । यद्यपि यो संकटमा दर्शकलाई हलसम्म आकर्षित गर्न त्यही अनुरुपको बलियो सिनेमाको जरुरी छ । कोभिडले गर्दा सिनेमा निर्माण, छायांकनमा पनि असर गरेको छ । अहिले सिनेमा निर्माण भइरहेको छैन ।

जति धेरै सिनेमा बन्छन्, हामीलाई हल सञ्चालनका लागि उत्तिनै सहज हुन्छ । एउटा सिनेमा नचलेपनि अर्को सिनेमाले त्यसको परिपूर्ति गरिदिन्छन् । निश्चल बस्नेतको लुट जस्तो, दीपक–दिपाको छक्कापञ्जा जस्तो सिनेमा बढी रुचाइएको छ । दयाहाङ राई, बिपिन कार्की, सौगात मल्ला जस्ता अभिनेताहरु मन पराइएका छन् । सत्रू गते, छक्का पञ्जा जस्तो सिनेमा बन्ने हो भने हामी हल संचालकलाई पनि राम्रै लाभ हुन्छ ।

कतिपयले के गुनासो गर्छन् भने नेपाली सिनेमालाई क्यूएफएक्स खासगरी मल्टिप्लेक्समा शो दिइदैन । कमजोर सिनेमा लगाएर के गर्नु ? दर्शक नै तान्न नसक्ने सिनेमा लगाएर के गर्नु ? कुनै पनि सिनेमा निर्माण भएपछि हामी त्यसको ट्रेलर, ब्यानर हेरेर नै हलमा लगाउने वा नलगाउने भनेर टुंगो गर्छौं । त्यसका लागि हामीसँग छुटै टिम नै खटिएका छन् ।

हामीले कुनै सिनेमालाई काखा र पाखा गर्ने कुरा आउँदैन । खासमा त क्युएफएक्सले गुणस्तरको एउटा मानक मात्र तयार गरिदिएको हो । त्यही अनुरुप स्तरीय सिनेमा बनाउने हो भने हामी जति पनि शो दिन तयार छौं ।

हलिउड वा बलिउड सिनेमा देखाउँदा हामीलाई जति मुनाफा हुन्छ, त्यो भन्दा बढी घरेलु सिनेमाले हुन्छ । किनभने विदेशी सिनेमाका लागि हामीले भ्याटबाहेक अतिरिक्त कर तिर्नुपर्ने हुन्छ । घरेलु सिनेमामा त्यस्ता भार नपर्ने हुँदा हामी घरेलु सिनेमा नै उत्कृष्ट बनोस् भन्ने चाहन्छौं ।

ओटिटी प्लेटफर्म र हलको अस्तित्व

एकातिर सिनेमा हल ठप्प हुनु र अर्कोतिर ओटिटी प्लेटफर्मको बढोत्तरी हुनुले जनमानसमा केही प्रश्न पैदा गरेको छ । जस्तो कि, के अब सिनेमा हेर्ने संस्कृति नै बद्लिनेछ ? के ओटिटी प्लेटफर्मले सिनेमा हलको अस्तित्व संकटमा पार्नेछ ?

मलाई लाग्दैन कि ओटिटी प्लेटफर्म जसरी आक्रमक रुपमा आएको छ, त्यसले सिनेमा हललाई संकटमा पार्नेछ । किनभने मनोरञ्जनका लागि मान्छेको मूल स्वभाव भनेको समूहमा रमाउने हो। एक्लो–दुक्लो भन्दा पनि धेरै जनामा रमाउने हो । यसरी मान्छे समूहमा रमाउने भएकाले सिनेमा हलले मनोरञ्जनको त्यो स्थान सुरक्षित राखिराख्छ ।

अर्को कुरा सिनेमा भनेको हलकै लागि निर्माण गरिएको हुन्छ । सानो स्क्रिनमा त्यसको भव्यता महसुष गर्न सकिदैन । पिक्चर क्वालिटीदेखि साउन्डसम्म सिनेमा हलमा जस्तो उत्कृष्टता अरुमा सायदै हुनसक्छ ।

ओटिटी प्लेटफर्म सिनेमा हलको प्रतिस्पर्धी होइनन् । बरु, यो सहयोगी चाहि हो । किनभने यसले सिनेमा हेर्ने नयाँ दर्शक थपिदिएका छन् । आज ओटिटीले ठूलो जमातलाई सिनेमा हेर्ने बानी पार्दैछ ।

तर, समयसँगै हरेक कुराको स्वरुप एवं संरचना परिवर्तन हुँदै जान्छ । त्यससँगै हामीले आफुलाई पनि अगाडि बढाउनुपर्छ जस्तो लाग्छ । भोलिका दिनमा हामी पनि ओटिटी प्लेटफर्ममा जाने संभावना छ वा छैन भनेर अहिले नै टुंगो नगरौं । तर, यो संभावनालाई पनि हामीले एकातिर सुरक्षित भने राखेका छौं । मूख्य कुरा चाहि के भने अहिले नै ओटिटी प्लेटफर्ममा जानका लागि हामीले सोचेजस्तो सजिलो छैन ।

कहिले खुल्छ हल ?

सिनेमा हल कहिलेदेखि सञ्चालन होला त ? कहिलेदेखि दर्शक आउन थाल्नेछन् ? कहिलेदेखि सिनेमाहरु निर्माण हुन थाल्नेछन् ?

यी कुरा अहिलेसम्म अनिश्चित नै छन् । त्यसैले हामीले ठोकुवा नै गरेर हल संचालन हुने कुरा बताउन सक्दैनौं । तर, के कुरा बताउनैपर्छ भने सुरक्षित तवरले सिनेमा हल सञ्चालनका लागि आवश्यक गृहकार्य गर्नैपर्नेछ । अहिलेको स्थितीमा लामो समयसम्म बस्न गाह्रो होला । यसमा सुरक्षाको विधी अपनाउने भन्दा अहिले अर्को विकल्प छैन । सिनेमा हलकै संरचना परिवर्तन गर्ने कुरा संभव छैन । विश्वमा ओपन थिएटरको अवधारणा पनि फस्टाइरहेको छ, तर हामीकहाँ तत्काल त्यस्तो परिवर्तन नहोला ।

बदलिएको सिनेमा संस्कृति

निर्धक्कसाथ भन्न सकिन्छ, क्यूएफएक्सले नै नेपाली सिनेमाको आयाम बदलेको हो । क्यूएफएक्सले मल्टिप्लेक्सको अवधारणा सुरु गरेसँगै आफैले पहिलो पटक डिजिटल सिनेमा कागबेनी निर्माण ग¥यो । त्यही बिन्दुबाट नेपाली सिनेमामा डिजिटल युगको सुरुवात भयो । यससँगै वाताअनुकुलित हलमा बसेर, मुखको स्वाद फेर्दे, सुरक्षित र आनन्ददायक ढंगले स्तरिय पर्दा र साउन्डमा सिनेमा हेर्ने बानी बस्यो ।

क्यूएफएक्सले सिनेमा संस्कारलाई अरु उन्नत र फराकिलो मात्र बनाएन, गुणस्तरको एउटा मानक पनि तयार गरिदियो । र, राम्रा सिनेमा बनाउने होड चल्यो । लुट, कवड्डी, पशुपतिप्रसाद, जात्रा, छक्कापञ्जा, बुलबुल जस्ता चलचित्र बने । कालोपोथी, सेतो सूर्य जस्ता चलचित्र बने । पर्दा, ध्वनी आदिको गुणस्तरसँगै आरामदायक ढंगले, सुरक्षित रुपमा बसेर सिनेमा हेर्ने व्यवस्थाले घरेलु उद्योगलाई राम्रै मलजल गरेको हो ।

(शिव मुखियासँग गरेको कुराकानीमा आधारित )



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *