काठमाडौं । अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले बुधवार पद तथा गोपनियताको सपथ लिए । ह्वाइट हाउसमा कार्यभार सम्हाले । बुधवार राती सपथ लिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत बधाई थिए । बाइडेनसँग सहकार्य गर्न इच्छुक रहेको बताए । साथै उनको कार्यकाल नेपाल अमेरिका सम्बन्ध उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
ओलीले बधाई दिएको भोलिपल्टै नवनियुक्त अमेरिकी राष्ट्रपति बाइडेनको सन्देश बालुवाटार पुग्यो । सन्देश लिएर आए नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी । कामचलाउ भइसकेका प्रधानमन्त्री ओली बाइडेनको सन्देश पाएपछि उत्साहित भएको बालुवाटार स्रोतले बतायो ।
संसद विघटन गरेका ओलीलाई भारत र चीनको साथ छ । त्यसमाथि अमेरिकाका नयाँ राष्ट्रपतिको सकारात्मक सन्देश पाएपछि ओलीमा उत्साह थपिएको हो । ओलीसँगको भेटमा बाइडेनले परिवर्तन गरेका ट्रम्पका विदेश नीतिहरु जानकारी गराएका थिए ।
इण्डो प्यासिफिक रणनीतिबारे पनि जानकारी गराएका थिए । त्यससँग एमसीसीको कुनै सम्बन्ध नभएको र विकासशील देशको समृद्धिका लागि भएको स्पष्ट पारेका थिए । साथै बाइडेनका नयाँ नीति तेस्रो विश्वका लागि उपयोगी रहेको जानकारी गराएका थिए ।
भेटबारे ट्वीट गर्दै बेरीले नयाँ राष्ट्रपतिको प्रशासनले नपालसँग कसरी साझेदारी गर्न खोजेको छ भन्ने विषयमा ओलीसँग छलफलका लागि भेटेको बताएका छन्। यस्तै, नेपालका साथै अन्य राष्ट्रहरुसँग पनि कोरोना भाइरसको संक्रमण, जलवायु परिवर्तन लगायतका मुद्दामा समेत बाइडेन प्रशासनको धारणा बारेमा छलफल भएको छ।