अमेरिकी नाट्यकर्मी भन्छिन् – नेपाली रङ्गमञ्चको पुनर्जागरणले छिट्टै गति लिनेछ

अमेरिकी नाट्यकर्मी भन्छिन् – नेपाली रङ्गमञ्चको पुनर्जागरणले छिट्टै गति लिनेछ


१२ माघ, काठमाडौं । सन् १९९२ मा पहिलो पटक नेपाल आएकी डेबोरा मेरोला सन् २००३ र २०११मा पुनः नौ/नौ महिनाका लागि नेपाल आइन्, अमेरिकी सरकारको फुलब्राइट सांस्कृतिक आदान-प्रदान कार्यक्रमअन्तर्गत ।

सन् २०११ मा आउँदा उनको एउटा उद्देश्य थियो : काठमाडौँको गुरुकुल नाटकघरसँग मिलेर एउटा नाटक निर्देशन र प्रदर्शन गर्ने । गुरुकुलसँगको अनुभवले उनलाई नेपालप्रति झनै आकर्षित बनायो र उनी नेपालै बस्न थालिन् ।

त्यसयता डेबोरा मेरोलाले काठमाडौँमा बसेर त्रिभुवन र पोखरा विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यका विद्यार्थीहरूलाई नियमित पढाइन् भने पाश्चात्य जगत्का उत्कृष्ट नाटकहरूलाई नेपालमा मञ्चन गर्ने उद्देश्यले वान वर्ल्ड थिएटर नामको संस्था स्थापना गरिन् ।

उनको संस्थाले काठमाडौँमा ३०भन्दा बढी नाटक देखाइसकेको छ, जसमध्ये अधिकांश अङ्ग्रेजी र केही नेपाली भाषामा छन् । यसबीचमा उनले विपिन कार्की, नम्रता श्रेष्ठ र राजकुमार पुडासैनीजस्ता नेपाली नाट्य र सिनेमा क्षेत्रका हस्तीहरूलाई निर्देशन गरिन् ।

गत वर्ष फागुनमा मेरोला आफ्नो नयाँ नाटकको अन्तिम तयारीमा व्यस्त रहँदा देशमा कोभिड१९को त्रास उचालियो र उनी आफ्नो कार्यक्रम रद्द गरेर क्यालिफोर्निया र्फकन बाध्य भइन् । तर अब बिस्तारै कोभिड१९को त्रास कम हुँदै छ र देशमा नाट्य गतिविधिहरू पुनः सुरु भएका छन् । यसले मेरोलालाई उत्साहित बनाएको छ र छिट्टै काठमाडौँ र्फकने तयारीमा छिन् ।

अन्तर्राष्ट्रिय परिवेशलाई समेत ध्यान दिएर नेपाली नाट्य क्षेत्रको भूत, वर्तमान र भविष्यबारे विश्लेषण गरिदिन आग्रह गर्दै अनलाइनखबरले डेबोरा मेरोलासँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

प्रदर्शन सुरु गर्नुभन्दा १० दिनअघि मात्र कार्यक्रम नै रद्द गर्नुभएछ, पोहोर । त्यस्तो निर्णय गर्दा कस्तो लाग्यो ?

कोभिड १९का कारण हामीले सम्भावनासहितको एक सिजनलाई रद्द वा स्थगित गर्नपर्‍यो । नोबेल पुरस्कार विजेता पिटर हृयान्ड्कीको द राइड अक्रस लेक कन्स्ट्यान्स साँच्चै नै एकदमै रमाइलो र मनोरञ्जक हुनेवाला थियो । हामीले संवत् २०७६ चैत ३० गतेबाट यसको प्रदर्शन गर्ने योजना बनाएका थियौँ । तर त्यसको १० दिनअगाडि नै हामीले सबै तयारी बन्द गर्नुपर्‍यो । यद्यपि हामीले हाम्रा कलाकारहरूको दुइर्ं तिहाइ पारिश्रमिक भुक्तानी गरिदियौँ ता कि उनीहरूलाई आउँदै गरेको कठिन समय, साँच्चै नै कठिन समय, सामना गर्न सहयोग पुगोस् ।

अब हामी हाम्रो संस्थाको दशौँ वाषिर्कोत्सवको अवसरमा आउँदो सेप्टेम्बर १०देखि १९सम्म यो नाटक प्रदर्शन गर्ने योजनामा छौँ । सामाजिक दुरी कायम रहने गरी बबरमहल रिभिजिटेडको बाहिरी चोकमा प्रदर्शन गरिनेछ ।

भनेपछि, नेपाली रङ्गमञ्चमा यो महामारीको नराम्रै असर परेछ । होइन त ?

जीवनका अरू कुराजस्तै यहाँ पनि लाभ र हानिबीच सन्तुलन भएकै छ । हाम्रै (संस्थाको) कुरा गर्ने हो भने, हाम्रो आफ्नै नाटकघर छैन, तर त्यसको अर्थ हाम्रो कुनै नियमित प्रशासनिक खर्च पनि छैन । वान वर्ल्ड थिएटर त वास्तवमै एउटा अन्तर्राष्ट्रिय कम्पनीजस्तो भयो, सन् २०१९मा हामीले दुई अमेरिकी (रोज स्विच र म), एक प|फ्रान्सेली (अलाइज बायानिक), एक बेल्जियमेली (ब्रुनो डेसेकेलियर) र दुई नेपाली निर्देशक (राजकुमार पुडासैनी र सन्देश श्रेष्ठ)सँग काम गर्‍यो । त्यस वर्ष हाम्रा नाटकहरू अर्जेन्टिना, भारत, नेपाल तथा संयुक्त राज्य अमेरिकामा निर्मित वा केन्द्रित थिए ।

हाम्रो कम्पनीमा काम गर्ने पश्चिमाहरू आफ्नो जीविकाका लागि यस कम्पनीमा निर्भर छैनन्, त्यसैले उनीहरूले हामीसँग काम गर्ने नेपाली सहकर्मीको भन्दा अझ सजिलोसँग नाटकघर बन्द हुँदाको पीडा सामना गर्न सक्थे । तर नेपाली सहकर्मीले भने दुखै पाए । हामीले सन् २०१८ र १९मा १२०भन्दा बढी नेपालीहरूलाई, प्रायलाई एकभन्दा धेरै पटक, काम दिएका थियौँ, तर सन् २०२०को मध्यमार्चबाटै सम्पूर्ण नाटकघरहरू बन्द भए । अर्थात्, उनीहरूका लागि उपलब्ध सबै कामहरू बन्द भए । हाम्रो साझा सिर्जनात्मकताको क्षतिबाट त हामी सबैले दुःख पायौँ ।

विशेषतः वान वल्र्ड थिएटरकै एकदमै कठिन समय ब्यहोरेका कलाकारहरूबाट नै मैले कोभिड१९को प्रभावबारे बुझेकी छु । हुन त हामी हाम्रा कलाकारहरूलाई अन्य नाटकघरको भन्दा राम्रो पारिश्रमिक दिन्थ्यौँ, तर पनि उनीहरूले सामान्य अवस्थामा पनि अन्य नाटकघरमा काम गरेर, भोइसओभर गरेर तथा चलचित्र बनाएर आफ्नो आम्दानी बढाउनुपर्ने हुन्थ्यो । अहिले कोभिड१९का कारण यी नियमित स्रोतहरू पनि बन्द भएका छन्, मात्र केही अनलाइन कक्षाहरू चलेका छन् ।

अन्य देशको अवस्थाचाहिँ कस्तो छ ?

मलाई लाग्छ पश्चिमी देशहरूका नाटकघरहरूसँग भर्चुअल प्रस्तुतिका लागि यताको भन्दा बढी र अझ राम्रो प्राविधिक क्षमता छ । उताका कलाकारहरू पनि टाढैबाट -रिमोटली) काम गर्नका लागि तयार छन् । केही पाश्चात्य नाट्य संस्थाहरूले एकअर्काको सहकार्यमा प्राविधिक हिसाबले उन्नत डिजिटल कार्यक्रम उत्पादन गरेका छन्, लाइभस्टि्रमिङ गरेका छन् ।

यद्यपि सबैका लागि कठिनाइ त छ नै किनकि तत्कालिक सिर्जनात्मकता र खुसी जीवन्त रङ्गमञ्च र दर्शकसँगको सम्बन्धबाट नै आउँछ ।

तर, आखिर नेपाली नाट्यमञ्च त यो महामारीभन्दा पहिला नै ठूलै सङ्कटमा थियो नि । दर्शक औँलामा गन्न सकिन्थे भने नाटकघर एकपछि अर्को बन्द हुँदै थिए । होइन र ?

मेरो अनुभव त त्यस्तो रहेन त ।

हुन त म नेपालीभाषी होइन र काठमाडौँमै बसेर पनि प्रायः अङ्ग्रेजी भाषाका नाटक बनाउन व्यस्त हुन्छु । त्यसैले मेरो अनुभव सीमित हुन सक्छ । तर पनि, गुरुकुल कमजोर भए पनि, थिएटर भिलेज बन्द भए पनि, बाँकी स्थापित संस्थाहरूले उत्कृष्ट नाटक प्रस्तुत गरेका छन् ।

सुनील पोखरेल र विमल सुवेदीले पहिला जे गरे, त्यसै गरी सर्वनाममा सामाजिक न्यायका विषयमा इमान्दार नाटकहरू बनेका छन्, सबिन लेहृमानको स्टुडियो सेभेनमा वार्षिकरूपमा हुने कार्यक्रममा राम्रो उपस्थिति देखिन्छ, अनुप बरालको एक्टर्स स्टुडियोले भारतको राष्ट्रिय नाट्य विद्यालयको उच्च स्तरको निर्देशक तालिम दिन्छ । यस्तो परिस्थितिमा वान वर्ल्ड थिएटर पनि नेपाली भाषामा समेत पाश्चात्य जगत्का उत्कृष्ट र प्रयोगवादी नाटक र आफ्नै मौलिक प्रस्तुति पनि लिएर प्रवेश गरेको हो ।

यस क्रममा मण्डला थिएटरका कलाकारले आफ्नै नाटकघर बनाए र यो नयाँ केन्द्रका रूपमा स्थापित भयो । विशेषतः युवा पुस्ताका धेरै दर्शकलाई आकर्षित गर्न यो सक्षम भयो । उता घिमिरे युवराजले शिल्पी थिएटरको निर्माणको नेतृत्व गरे र ‘कमेडिया देलआर्ते’ शैलीको तालिम दिन लागे । शैली थिएटरले बारम्बार बालनाटक महोत्सव गर्‍यो भने थिएटर मल पनि बालबालिकामै केन्दि्रत भयो । हालसालै, कौसी थिएटर महिलाकेन्दि्रत नाटकको केन्द्र भएको छ भने सुलक्षण भारती पुरानो घर खोल्दै छन् । काठमाडौँमा हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सव र थिएटर हबले समग्र नाट्य समुदायमाझ सहकार्यलाई प्रोत्साहन गरेको छ ।

यीमध्ये धेरै थिएटरहरूले कलाकारहरूलाई तालिम दिने कार्यक्रम पनि सुरु गरेका छन् । यद्यपि राम्रा नाटकहरू पर्याप्त मात्रामा

नबन्नु र तिनले युवा कलाकारलाई जीवनयापनका लागि पर्याप्त आम्दानी नदिनु दुःखलाग्दो कुरा हो ।

तर, पनि युवा कलाकारहरूले खाली ठाउँ भरेका छन्, आफ्नै नाटकघर बनाएका छन्, नाटक देखाएका छन्, गर्दै छन् र त्यसैबाट सिक्दैछन्, त्यो खुसीको कुरा हो । यस क्रममा पखेँटा उम्रँदै गर्दाका कतिपय नाटकघर असफल भएका छन् ।

यो असफलताले सन् १९६०को दशकको अमेरिकाको नाट्य क्षेत्र र हलिउडका प्रारम्भिक दिनहरू सम्झाउँछ जुन बेला नाटक वा चलचित्र उद्योग खासै महँगो थिएन (अर्थात् खासै कमाइ पनि हुँदैनथ्यो) र नियमन पनि गरिएको थिएन । कोभिड १९ले यो सिर्जनात्मक क्षेत्रमा विराम लगाउनुअगाडि नेपाली नाट्य क्षेत्रले पुनर्जागरणको अभ्यास गर्न लागेको थियो, विभिन्न नाट्य महोत्सवहरू नेपाली प्रस्तुतिले सजिलै भरिन्थे । हुन त यो विराम अस्थायी हो ।

मलाई थाहा छ यी सबै नाटकहरू उही क्षमताका हुँदैनथे । अब नेपालीमा वा नेपाली विषयवस्तुबारे अङ्ग्रेजी भाषामै पनि समसामयिक नाटकहरू लेखिनुपर्छ । हामी आफैँ, हाम्रो इतिहास, राजनीति र संस्कृति बुझ्न र अन्य संस्कृतिका व्यक्तिहरूसँग त्यस ज्ञानको सञ्चार गर्नका लागि नाटकले सहयोग गरोस् भन्ने चाहान्छौँ ।

उदाहरणका लागि, अमेरिकामा युजिन ओनिल, आर्थर मिलर, टेनिसि विलियम्स, इड्वार्ड एल्बी, अगस्ट विल्सन, टोनी कुस्नर, सुजान लोरी पार्कसलगायतका नाटककारलाई हामी राष्ट्रिय सम्पदाका अङ्ग मान्छौँ । हाल विद्यमान धार्मिक तथा ऐतिहासिक नाटकका अतिरिक्त नेपाललाई पनि आधुनिक संस्कृतिको प्रतिबिम्बन हुने यस्तै राष्ट्रिय सम्पदा चाहिन्छ ।

यति भन्दाभन्दै पनि, म नेपाली नाटकको कुनै विशेषज्ञ होइन । सन् २०११मा वान वर्ल्ड थिएटर स्थापना गरेदेखिका सुरुका पाँच वर्ष म नेपालमै बसेँ र नेपालमा बढ्दो सङ्ख्याका नाटकघरहरूका प्रस्तुति हेरेँ । हामीले थिएटर भिलेज पहिला भएको ठाउँ भाडामा लियौँ, जुन आफैँमा एउटा सक्रियताको केन्द्र थियो । त्यसै गर, मैले बुझ्दा, अन्य सम्मानित संस्थाका साथ गुरुकुल त नेपाली नाट्य संस्थाको केन्द्रमा नै थियो ।

तपाईंले भनेको कुरा सही हो । गुरुकुल हुँदाको समय नै नेपाली रङ्गमञ्चको सर्वोत्तम समय हुनुपर्छ । तपाईंले गुरुकुलसँग पनि काम गर्नुभयो । तर यसले छाडेर गएको शून्यता पूर्ति गर्न अन्य समूह किन आएनन् ? कि गुरुकुलले पनि खासै योगदान नै गरेको थिएन, खालि चर्चा मात्र बढी थियो ?

मलाई लाग्छ सुनील पोखरेलले अभिनय तथा निर्देशन क्षमताका लागि वरदान नै पाएका छन् । उनी धेरैका गुरु हुन् । तर एक व्यक्तिको बौद्धिकताको जगमा उभिएका अन्य संस्थाजस्तै यसका पनि अन्तरनिहित सीमाहरू थिए ।

मैले गुरुकुलसँग मिलेर एउटा नाटक बनाएँ भने यसले आयोजना गरेका अन्तर्राष्ट्रिय नाटक महोत्सवहरूमा आफ्ना नाटकहरू सहभागी गराएँ । भौतिक नाटकघरमै कलाकारहरू बस्ने र त्यहीँ काम गर्ने, नाटक चलाउने जुन संयोजन गुरुकुलले गरेको थियो, जसरी कलाकारहरूलाई विभिन्न तालिममा सहभागी गराएको थियो, जसरी कलाकारहरूलाई साना र ठूला भूमिका पालैपालो दिएको थियो, यो असामान्य थियो ।

यो ‘रेपटोरी थिएटर’को नमुना थियो, जुन मण्डलाले एक हदसम्म पछ्याएको छ । वान वल्र्ड थिएटरले यसबाट धेरै फाइदा उठाएको छ, हामीले धेरै कलाकारलाई साथी बनाएका छौँ । मैले अमेरिका र नेपालमा ७५भन्दा बढी नाटक निर्देशन गर्दाको सबैभन्दा उत्कृष्ट कलाकार राजकुमार पुडासैनी यहीँ भेटेको छु ।

तर, तपाईँलाई लाग्दैन कि नाटकले आफ्नो शक्ति गुमाउनुको पनि चित्तबुझ्दा कारणहरू छन् ? आफ्ना कुरा अभिव्यक्त गर्न, मनोरञ्जन लिन अझ राम्रा माध्यम आएका छन् । अचेल फिल्म हेर्न पनि को जान्छ र ? आखिर घरकै टिभीमा सिनेमा आउँछ । अझ इन्टरनेटमा त जे पनि आउँछ ।

यो प्रायः सधैँ सोधिने प्रश्न हो । अहिलेको जमानामा नाटक र चलचित्र कसरी बाँच्लान् भन्ने चिन्ता छ । इन्टरनेटले सबै कुरा त चिन्छ, तर यो पनि पश्चिमबाट आउँछ र यसमा व्यापारिक कठिनाइ पनि सँगै आउँछ । नेपालका लागि यो आदर्श माध्यम होइन । त्यसबाहेक इन्टरनेट र टीभीमा कार्यक्रम बनाउने लेखक, निर्देशक, कलाकार र डिजाइनरलाई तालिमको आवश्यकता छ । टीभीका कार्यक्रममा पहिल्यै अनुमान गर्न सकिने कथा हुन्छ, अनावश्यक रूपमा हिंसा र यौनको कुरा जोडिएको हुन्छ । हुन त कतिपय कार्यक्रम अत्यन्त सुन्दर पनि हुन्छन् । मैले हालसालै नेटफि्लक्समा ‘वान नाइट इन मायामी’ हेरेको थिएँ, यसको विश्लेषण र शक्ति त एउटा पुरानो नाटकमै आधारित रहेछ ।

त्यसोभए नेपाली नाट्यमञ्चलाई पुनः जगाउन के गर्नुपर्ला ?

मेरो विचारमा हालको विश्राम अस्थायी हो, जब कि नेपाली नाटकको पुनर्जागरण अहिले पनि जारी छ । अब सुरु भएपछि यो पुनः आफ्नो गतिमा र्फकने आशा छ । विगतका हप्ताहरूमा नेपाली नाटकघरहरूबीच नयाँ उत्साहका साथ सहकार्य सुरु भएको छ, नयाँ नाटकहरू पनि सुरु भएका छन् । कलाकारहरूको गज्जबको प्रतिभा र समर्पणका आधारमा भन्न सकिन्छ कि यो अभियानले आफ्नो गति अवश्यै बढाउनेछ ।

नेपाललाई भारतको राष्ट्रिय नाट्य विद्यालयको जस्तै एक राष्ट्रिय शैक्षिक कार्यक्रमको आवश्यकता छ जसले दशैभरि बहुभाषिक र आदिवासी नाट्य समूहहरूलाई सहयोग गरोस् र विश्वस्तरका नाटक बनाओस् । नेपाली कलेज र विश्वविद्यालयमा नाटककै विषयमा स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक कार्यक्रम हुनुपर्छ । नाट्य क्षेत्रका विद्वान् र कलाकारले उपयुक्त शिक्षा, तालिम र रोजगारी पाउनुपर्छ ।

यससँगै नेपाली नाट्य समुदायले पर्यटकहरूसम्मको पहुँच प्राप्त गर्नुपर्छ । नेपालमा प्रायजसो धेरै विदेशीहरू घुमिरेका हुन्छन्, तर धेरैले मलाई काठमाडौँमा कुनै नाटकघर छ भन्ने आफूलाई थाहा नै नभएको बताएका छन् ।

संसारभरका सरकारहरूले कलालाई पनि विकासकै रूपमा नलिएसम्म नाटक आफ्नो क्षमताअनुसारको सशक्त शैक्षिक र आर्थिक साधन बन्न सक्दैन ।

नेपाली नाट्य क्षेत्रले अन्तर्राष्ट्रिय अनुभवबाट के सिक्न सक्छ ? विशेष गरी आधुनिक प्रविधिको प्रतिरोध गर्दै कठिन समयमा पनि आफ्नो उपस्थिति देखाउन के सिक्नुपर्ला ?

विशेषतः उच्च व्यावसायिक स्तरका प्रायः कलाकारहरूले आधुनिक प्रविधिको प्रतिरोध गर्दैनन्, बरु तिनलाई प्रयोग गर्छन् । यति हुँदाहुँदै पनि उनीहरू (प्रविधिबिना) सामान्य स्रोतसाधनमा काम गर्न पनि सक्षम छन् । आखिर, अन्य मानवीय आत्मासँगको सञ्चारका लागि मानव शरीर, मानव आवाज र मानव आत्मा अनिवार्य छ ।




Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *