अफबाहलाई चिर्दै कोभिड विरुद्धको भ्याक्सिन लगाउँदै स्वास्थ्यकर्मी


बाँके, १९ माघ ।

पहिलो पटक लगाउन लागिएकोले कोरोना विरुद्धको भ्याक्सिन प्रति शंका–उपशंका अहिले पनि कायमै छ । परीक्षणका लागि ल्याइएकोले यसले स्वास्थ्यमा दीर्घकालिन नकारात्मक असर गर्ने अफबाह फैलिएपछि स्वास्थ्यकर्मी समेत यो खोप प्रति सशंकित भएका छन् । सामाजिक संजालमा पैmलिएको अफबाहले स्वास्थ्यकर्मी समेत भ्याक्सिन लगाउन आनाकानी गरिरहेका छन् । यहि अफबाहलाई चिर्न भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले पहिलो खोप लगाए ।
उनले भ्याक्सिन लगाएपछि स्वास्थ्यमा नकारात्मक असर नगरेको स्पष्ट पारेका छन् । भ्याक्सिन लगाएकालाई नकारात्मक असर नगरेपछि बाँकेमा खोप लगाउनेहरु उत्साहित भएका छन् । बाँकेमा कोरोना विरुद्धको भ्याक्सिन अभियान प्रभावकारी रुपमा अगाडी बढिरहेको जिल्ला कोभिड संकट ब्यवस्थापन समिति (डिसिसिएमसी) ले जनाएको छ ।
६ दिनको अवधिमा ८० प्रतिशत लक्षित समुहले कोरोना विरुद्धको भ्याक्सिन लगाएपछि डिसिसिएमसी हौसिएको छ । कोरोना भ्याक्सिन लगाउनेको संख्या आशा गरिएको भन्दा राम्रो भइरहेको डिसिसिएमसीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘कोभिड विरुद्धको भ्याक्सिन लगाउनेको सहभागिताले हामी हौसिएका छौँ,’ उनले भने ।
१४–१९ माघसम्म दुई हजार ७८१ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएको डिसिसिएमसीका फोकल पर्सन तेज ओलीले बताए । ‘१९ माघसम्म तीन हजार ४५० जनालाई खोप दिने लक्ष्य थियो । यस अवधिमा ८० प्रतिशतले कोराना विरुद्धको खोप लगाएका छन्,’ उनले भने ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयमसेविका र शब ब्यवस्थापनमा खटिने नेपाली सेनालाई भ्याक्सिन दिइदैछ । ‘यहाँका सात हजार पाँच सय जनालाई भ्याक्सिन दिइने लक्ष्य छ,’ ओलीले भने ।
बाँकेमा अहिलेसम्म एक हजार ५७५ स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत दुई सय ८७ कर्मचारी, ४२५ जना स्वास्थ्य स्वयमसेविका, ३३० जना सरसफाईकर्मी र ३८ जना एम्बुलेन्स चालकले भ्याक्सिन लगाएका छन् । शब ब्यवस्थापनमा खटिने १२८ जना नेपाली सेनाले पनि कोरोना विरुद्धको भ्याक्सिन लिएको डिसिसिएमसीका फोकल पर्सन ओलीले बताए ।
उनले २५ माघसम्म भ्याक्सिन दिने समय निर्धारण गरिएको बताए । बाँकेमा भेरी अस्पताललाई भ्याक्सिन लगाउने खोप केन्द्र तोकिएको छ । भ्याक्सिन लगाउन सहज बनाउन स्वास्थ्य संस्था, स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयमसेविकाका लागि छुट्टाछुट्टै समय दिइएको छ ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले कोरोना बिरुद्धको पहिलो भ्याक्सिन लगाएका थिए । उनले भ्याक्सिनले स्वास्थ्यमा कुनै असर नगरेको बताउँदै निर्धक्क भएर कोरोना विरुद्धको भ्याक्सिन लगाउन आग्रह गरेका छन् । ‘खोप लगाएका मध्ये अहिलेसम्म कसैलाई जटिल समस्या देखिएको छैन,’ उनले भने ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *